एसईईकै सुरू भएकै दिन ‘रोल नं १’ को पोस्टर रिलिज : ‘सारङ्गी’ हिट र ‘अभिमन्यु’ फ्लपपछि ब्यानरको साख के होला?
काठमाडौं : देशभरका विद्यार्थीहरू एसईई परीक्षा सुरु भएकै दिन नयाँ फिल्म ‘रोल नं १’ को पोस्टर सार्वजनिक गरिएको छ। आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मले शिक्षाका लागि गाउँले परिवारले गर्ने संघर्ष र भुइँमान्छेको कथा बोल्नेछ।
आफैँले बनाएको ‘पूर्णबहादुरको सारङ्गी’ले बक्स अफिसमा झण्डै ४८ करोडको व्यापार गर्दै नेपाली सिनेमाको इतिहासमै तहल्का मच्चाएको र त्यसपछि बनाएको ‘अभिमन्यु च्याप्टर १’ सुपर फ्लप भएको बेला ‘सेभेन सिज सिनेमा’ र निर्माता विनोद पौडेलले नयाँ फिल्म लिएर आएको हो।
एउटा ऐतिहासिक हिट र अर्को सुपर फ्लपको बीचमा च्यापिएको यो टिमलाई अब ‘रोल नं १’ ले नै उद्धार गर्नुपर्ने भारी जिम्मेवारी छ। त्यसैले पनि निर्माण टिमले यसबाट ठूलै अपेक्षा राखेको छ।
सार्वजनिक दुई फरक शैलीका पोस्टरले पनि नेपाली समाजको यथार्थलाई देखाउन खोजेको छ। ‘हरेक विद्यार्थीको कथा’ भन्ने ट्यागलाइन राखिएको यो फिल्मले पढाइ, स्कुलको संघर्ष र परीक्षामा जसरी पनि ‘रोल नम्बर १’ नै ल्याउने सपनाको सेरोफेरोमा कथा बुनेको अनुमान गर्न गाह्रो छैन।
महेश दवाडीले लेखेको यो कथा हिमाली जिल्ला म्याग्दीका सुन्दर र ग्रामीण भेगमा खिचिएको हो। यसअघि ‘आँखा’ फिल्म निर्देशन गरेका जोन योञ्जनले यसलाई पर्दामा उतारेका हुन्।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी जस्ता मझेका कलाकारहरूको मुख्य भूमिका छ। साथमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ जस्ता बालकलाकारहरूले पनि आफ्नो क्षमता देखाउनेछन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह-निर्माता छन्। शिवराम श्रेष्ठको क्यामेराले खिचेको यो फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र मदन घिमिरेको सम्पादन छ।
रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने यो फिल्मले साँच्चै बक्स अफिसमा 'रोल नम्बर १' ल्याउँछ कि ल्याउँदैन, त्यो हेर्न भने जेठ १५ सम्म कुर्नैपर्ने हुन्छ।
चैत १९, २०८२ बिहीबार १०:१८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।