गृहमन्त्रीले गाडी बदले : रातो ‘एमजी’बारे प्रश्न उठेपछि ‘ओमोडा’मा देखिए

गृहमन्त्रीले गाडी बदले : रातो ‘एमजी’बारे प्रश्न उठेपछि ‘ओमोडा’मा देखिए

काठमाडौं : सरकारी सेवासुविधा नलिने घोषणा गरेर निजी कार चढ्दै आएका गृहमन्त्री सुधन गुरुङले आफूले प्रयोग गर्दै आएको गाडी फेरेका छन्।

आफूले चढ्दै आएको रातो कारको स्वामित्वलाई लिएर प्रश्न उठेपछि उनले बिहीबारदेखि अर्कै गाडी प्रयोग गर्न थालेका हुन्।

बिहीबार बिहान उनी पशुपतिनाथ क्षेत्रमा बागमती प्रदेश-०१ ०३२ च २५५७ नम्बरको नयाँ ओमोडा कारमा देखिए। पशुपति क्षेत्र विकास कोषको पार्किङमा सो गाडीबाट ओर्लिएर उनी पैदलै मन्दिरतर्फ गएका थिए।

विगतमा सुरक्षा प्रोटोकलको समेत बेवास्ता गर्दै प्रायः आफैँ गाडी हाँक्ने गरेका गृहमन्त्री गुरुङ बिहीबार भने चालकसँगैको अगाडिको सिटमा बसेका थिए।

सांसद निर्वाचित भएदेखि नै भत्ता नलिने र गृहमन्त्री बनेपछि पनि सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका गुरुङले यसअघि बागमती प्रदेश–०१, ०३२ च ४४७७ नम्बरको रातो रङको एमजी कार प्रयोग गर्दै आएका थिए।

गृहमन्त्रीले यसअघि चढेको रातो रङको एमजी कार।

गृह मन्त्रालयले उनको सुविधाका लागि बा १ झ ६४३१ नम्बरको सरकारी ल्यान्डक्रुजर गाडी तयारी अवस्थामा राखे पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। राज्यको सुविधा नलिने भन्दै उनले उदार छवि बनाउने प्रयास गरेका थिए।

तर, उनले प्रयोग गर्दै आएको उक्त रातो कार उनको आफ्नै निजी भने नभएको तथ्य बुधबार उकेराले सार्वजनिक भएको थियो। यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको रेकर्डअनुसार उक्त गाडी प्रभु बैंक लिमिटेड र लगुम प्रिमियम अपार्टमेन्ट प्रालिको नाममा दर्ता रहेको पाइएको थियो।

यातायात व्यवस्था विभाग एकान्तकुनाको सवारी दर्ता किताबको विवरण।

सवारी दर्ता किताबमा सवारी धनीको रूपमा बैंक र अपार्टमेन्टको नाम उल्लेख भए पनि सम्पर्क नम्बर भने गृहमन्त्री गुरुङकै राखिएको थियो। लगुम अपार्टमेन्टका मुख्य सञ्चालक सुनिल कुमार श्रेष्ठ हुन्।

व्यापारिक घराना र बैंकको नाममा रहेको गाडी गृहमन्त्रीले प्रयोग गरेको विषयमा बुधबार दिनभर उकेराले सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आएनन्। गाडी कसको हो भन्ने विषयमा प्रश्नसहितको म्यासेज पठाउँदा पनि उनले कुनै प्रतिक्रिया दिएनन्।

चैत १९, २०८२ बिहीबार ०९:४८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।