ट्रम्पले त्यस्तो के बोले, जसले विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो अनि शेयर बजार ह्वात्तै घट्यो
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्धका विषयमा ह्वाइट हाउसबाट गरेको सम्बोधनपछि विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ। यसको नकारात्मक असर अमेरिकी शेयर बजारमा पनि देखिएको छ।
बीबीसीका संवाददाता पिटर हकिन्सका अनुसार, ट्रम्पले सम्बोधन सुरू गर्नुअघि बेन्चमार्क कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १०० डलर थियो।
उनको भाषणको समयमा मूल्यमा केही उतारचढाव आए पनि सम्बोधन सकिएपछि भने मूल्य निरन्तर बढिरहेको छ। हाल तेलको मूल्य करिब ४ प्रतिशतले वृद्धि हुँदै प्रति ब्यारेल १०५.३८ डलर पुगेको छ।
बजार विश्लेषकहरूले ट्रम्पले आफ्नो सम्बोधनमा ‘स्ट्रेट अफ हर्मुज’को विषयमा केही महत्त्वपूर्ण घोषणा गर्ने अपेक्षा गरेका थिए। तर, यसबारे कुनै जानकारी नआएपछि तेलको मूल्यमा वृद्धि देखिएको हो।
स्ट्रेट अफ हर्मुज विश्व अर्थतन्त्रका लागि निकै महत्त्वपूर्ण समुद्री मार्ग हो। विश्वको कुल ऊर्जा व्यापारको करिब २० प्रतिशत हिस्सा यही साँघुरो बाटो हुँदै आवतजावत हुने गर्छ। गत फेब्रुअरी २८ देखि युद्ध सुरु भएयता यो मार्ग लगभग बन्द अवस्थामा छ।
अमेरिका र इजरायलले गरेको हवाई आक्रमणको जवाफमा इरानले उक्त मार्ग हुँदै जाने पानीजहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएपछि सो क्षेत्रमा व्यापारिक उडान र जल यातायात प्रभावित भएको हो।
ट्रम्पको सम्बोधनले विश्व बजारमा कच्चा तेलको मूल्य बढाएको छ भने अमेरिकी शेयर बजारको फ्युचर्स मार्केटमा गिरावट ल्याएको छ। प्राप्त तथ्याङ्क अनुसार डाउ जोन्स र 'एस एन्ड पी ५००' फ्युचर्स करिब ०.७ प्रतिशतले घटेका छन् भने न्यासड्याक फ्युचर्समा करिब १ प्रतिशतले गिरावट आएको छ।
शेयर बजारमा फ्युचर्स भन्नाले लगानीकर्ताहरूलाई भविष्यको कुनै निश्चित मितिमा पहिले नै तोकिएको मूल्यमा शेयर खरिद वा बिक्री गर्न दिने सम्झौतालाई बुझाउँछ। यसलाई लगानीकर्ताहरूको एक प्रकारको अनुमान वा दाउका रूपमा लिइन्छ, जसले बजारको भविष्य कता जाँदैछ भन्ने सङ्केत गर्छ।
फ्युचर्स मार्केटमा आएको यो गिरावटले समग्र शेयर बजारको आगामी दिशा पनि नकारात्मक हुन सक्ने देखाएको छ।
चैत १९, २०८२ बिहीबार ०९:२२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।