हिलटन होटलको भिडियो रिपोर्टबारे पत्रकार पाठकले पाए सफाइ, साइबर क्राइमको दाबी नपुग्ने फैसला
काठमाडौं : युट्युबमा प्रसारण भएको हिलटन सम्बन्धी भिडियो रिपोर्टका कारण साइबर क्राइमको मुद्दा खेपेका पत्रकार दिलभूषण पाठकले सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौँले दाबी नपुग्ने ठहर गर्दै बुधवार उनलाई सफाइ दिने फैसला गरेको हो।
बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले पाठकको पक्षमा फैसला गरेको हो। पाठक यस अगाडि सो अभियोगमा २५ हजार धरौटीमा रिहा भएका थिए।
हिल्टन होटलमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको भन्दै उनले आफ्नो युट्युब च्यानल ‘टफ टक विथ दिलभूषणमा भिडियो रिपोर्ट प्रसारण गरेका थिए।
त्यसको विरुद्ध जयवीरले उनी विरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै साइबर ब्युरोको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो।
जिल्ला अदालतको फैसला चित्त नबुझेमा सरकारी पक्ष उच्च अदालतमा पुनरावेदनमा भने जान सक्नेछ।
चैत १९, २०८२ बिहीबार ००:१५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।