गृहमन्त्री सुदन चढ्ने रातो कार कसको हो?

गृहमन्त्री सुदन चढ्ने रातो कार कसको हो?

काठमाडौं : सांसद निर्वाचित भए लगत्तै भत्ता नलिने घोषणा गरेका सुदन गुरुङ जब गृहमन्त्री नियुक्त भए उनले सरकारी गाडी समेत प्रयोग नगर्ने घोषणा गरे। अधिकांश ठाउँमा उनी रातो रंगको निजी कारमै देखिए जसको नम्बर थियो बागमती प्रदेश-०१, ०३२ च ४४७७।

सरकारी सेवा सुविधा प्रयोग नगर्ने भन्दै गृह मन्त्रालयले मन्त्रीको प्रयोगका लागि तयारी अवस्थामा राखेको बा १ झ ६४३१ को ल्यान्डक्रुजर राखे पनि उनले त्यो सवारीसाधन उनले प्रयोग गरेका छैनन्।

अधिकांश सार्वजनिक स्थलमा मात्रै हैन उनी सुरक्षा निकायको कार्यालयमा पुग्दा पनि उही रातो रंगको बागमती प्रदेश-०१, ०३२ च ४४७७ नम्बरकै गाडीको प्रयोग गर्ने गरेका छन्। सुरक्षा प्रोटोकल अनुसार नमिले पनि अधिकांश समय उनी आफैँ चालक सिटमा देखिन्छन्।

सांसद वापतको भत्ता नलिने घोषणा गरेका अनि देश विकासको हुटहुटीले कतिले कता त कहिले कता पुगिरहेका सुदनले प्रयोग गर्ने गाडी उनकै त हो?

उकेराले यसबारे सोधखोज गर्दा फरक तथ्य फेला पर्यो। राज्यको पदमा बस्दा स्वाभाविक रूपमा आउने तलब अनि सुविधा समेत नलिने घोषणा गरेर उदार छवि बनाउने प्रयासमा रहेका गृहमन्त्री सुदनले प्रयोग गरिरहेको निजी गाडी उनको हैन।

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा यसबारे बुझ्दा यो गाडी निजी सवारीको रूपमा २०८२ जेठ ४ गते दर्ता भएको खुल्यो। सवारी दर्ता किताबमा सवारी धनीको नाममा प्रभु बैंक लिमिटेड र लगुम प्रिमियम अपार्टमेन्ट प्रालि राखिएको छ। त्यसको तल राखिएको सम्पर्क नम्बर भने गृहमन्त्री सुदन गुरुङको छ।

दर्ता किताब अनुसार सो गाडी प्यारामाउन्ट मोटर्सले विक्री गरेर प्रभु बैंकले किनेको प्रस्टै देखिन्छ। सवारी दर्तामा तस्बिर राख्नु पर्ने एक ठाउँमा प्यारामाउन्ट मोटर्सको छाप छ अनि अर्कोमा प्रभु बैंकको।

यातायात व्यवस्था विभाग एकान्तकुनाको सवारी दर्ता किताबको विवरण।२०८२ असार २९ मा सवारी धनीको नाम थर र ठेगाना उल्लेख गरिएको सवारी दर्ता पुस्तिकामा प्रभु बैंक ललितपुरको छाप छ। माथि नाम लेख्दा प्रभु बैंक, त्यसको तल लगुम अपार्टमेन्ट अनि त्यसको तल सम्पर्क नम्बरमा गुरुङको नम्बर छ।

लगुम अपार्टमेन्टको सञ्चालन र व्यवस्थापनको मुख्य भूमिका सुनिल कुमार श्रेष्ठ रहेको देखियो। तर उनीसँग सम्पर्क हुन सकेन।

आखिर गाडी कसको हो? यसबारे बुझ्न गृहमन्त्री गुरुङलाई बुधवार दिनभर सम्पर्क गर्ने प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन। उनलाई सम्पर्क गर्न खोज्नुको कारण उल्लेख गरेर मेसेज गर्दा पनि उनी सम्पर्कमा आएनन्।

चैत १८, २०८२ बुधबार २०:४९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।