खुम्चिएका आकाशलाई पन्तको आशीर्वाद, १३ करोडको सिक्वेलले देला त नयाँ उडान ?

खुम्चिएका आकाशलाई पन्तको आशीर्वाद, १३ करोडको सिक्वेलले देला त नयाँ उडान ?

काठमाडौं : एक समयमा अभिनेत्री पूजा शर्मासँगको सहकार्यका कारण चर्चामा रहने अभिनेता आकाश श्रेष्ठ पछिल्लो समय सिने क्षेत्रमा केही ओझेलमा परेका छन्। सुरुवाती दिनमा लोभलाग्दो देखिएको उनको अभिनय यात्राले पछिल्ला वर्षहरूमा सन्तोषजनक उचाइ लिन सकेन। 

केही म्युजिक भिडियोमा अभिनय गरेपछि फिल्म ‘म त तिम्रै हुँ’बाट नेपाली रजतपटमा डेब्यु गरेका आकाशले त्यसपछि ‘ड्रिम गर्ल’, ‘राम कहानी’ र ‘सम्हालिन्छ मेरो मन’ जस्ता फिल्ममा काम गरे। तर, उनको करियर उकालो लाग्नुको सट्टा पछाडि धकेलिँदै गएको देखियो।

पछिल्लो समय फिल्मकर्मी र दर्शकको रोजाइमा कम पर्न थालेका आकाशका लागि दुई महिनाअघि एक ‘अनटाइटल्ड’ फिल्ममा अनुबन्ध भएको चर्चा चलेको थियो। ‘जय शम्भु’ र ‘दान्भी’ निर्देशक रुपेश तामाङको निर्देशनमा बन्ने भनिएको एक्सन जनराको उक्त फिल्ममा पूजा शर्मा पनि रहने हल्ला चल्नुबाहेक त्यसको ठोस प्रगति भने देखिएको छैन।

यसैबीच, लामो समयको अन्तरालपछि आकाशलाई निर्देशक चन्द्र पन्तले नयाँ अवसर दिएका छन्। हलमा प्रदर्शन भइरहेको सफल फिल्म ‘आ बाट आमा’का निर्देशक पन्तले आफ्नो आगामी फिल्म ‘आ बाट आमा २’मा आकाशलाई अनुबन्ध गरेका हुन्। आगामी वैशाखदेखि छायांकनमा जाने यस फिल्मका लागि निर्देशक पन्त र आकाशबीच यसअघि नै लिखित सम्झौता भइसकेको छ।

फिल्ममा आकाशको भूमिका मुख्य हो या सहायक भन्ने विषयमा निर्माण पक्षले स्पष्ट खुलाएको छैन। तर, यसअघि नै फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह र अभिनेत्री बिपना थापा अनुबन्ध भइसकेकाले आकाशको भूमिका सहायक हुनसक्ने अनुमान गरिएको छ।

आधा दर्जन फिल्ममा अभिनय गरिसक्दा पनि ठोस व्यावसायिक सफलताको खोजीमा रहेका आकाशका लागि चन्द्र पन्तले निर्माण गर्न लागेको यो फिल्मले उनको करियर उठाउँला त ? त्यसको लागि आगामी दशैंसम्म पर्खिनुपर्ने हुन्छ। यद्यपि 'आ बाट आमा'ले बक्स अफिसमा १३ करोड माथिको व्यापार गरिरहँदा यसको सिक्वेलले पनि सोही सफलता दोहोर्याएमा आकाशको ओरालो लागेको क्रेज पुनः फर्कने अपेक्षा गर्न सकिन्छ।

पाइलट बन्ने सपनालाई त्यागेर अभिनयमा होमिएका आकाशलाई यो फिल्मले दर्शक र मेकरको नजरमा कत्तिको स्थान दिलाउला, त्यो भने फिल्म प्रदर्शनसम्म कुर्नु नै पर्ने छ। 

चैत १८, २०८२ बुधबार ००:४३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।