सुरक्षाको करियरमा 'राहु' छाया ! एक्टिङ हिट, फिल्म 'फ्लप'

सुरक्षाको करियरमा 'राहु' छाया ! एक्टिङ हिट, फिल्म 'फ्लप'

काठमाडौं : कुनै पनि फिल्मको व्यावसायिक सफलता वा असफलतामा कलाकारको भूमिका महत्त्वपूर्ण मानिन्छ। दर्शकले फिल्मको कथावस्तुसँगै त्यसमा आबद्ध कलाकारलाई हेरेर हलसम्म जाने निधो गर्छन्। 

नेपाली फिल्मको इतिहासमा कुनै समय यस्तो थियो, जहाँ महानायक राजेश हमालको टाउको मात्रै राख्दा पनि दर्शक तान्न पर्याप्त हुन्थ्यो। तर, पछिल्लो समय दर्शक सचेत र चुजी हुँदै गएका छन्। यद्यपि, अझै पनि कुन फिल्ममा कुन कलाकार छन् भन्ने विषयले चर्चा र व्यापारमा अर्थ राख्छ।

यसै सन्दर्भमा, अभिनेत्री सुरक्षा पन्तको चर्चा गर्दा उनले अभिनय गरेका पछिल्ला फिल्महरूले व्यावसायिक रूपमा सुखद नतिजा दिन सकेका छैनन्। सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा आफ्ना धारणाका कारण चर्चामा रहने सुरक्षा केही समय यता गुपचुप छन्। 

फिल्म क्षेत्रमा उनले अभिनयको प्रशंसा पाए पनि व्यावसायिक सफलताको पाटो भने कमजोर देखिन्छ। करिब ६ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘आमा’मा चरित्रका लागि कपाल मुण्डन गरेपछि सुरक्षाको निकै चर्चा भएको थियो। तर, त्यसयता उनले अभिनय गरेका फिल्महरूले हलमा दर्शकलाई आकर्षित गर्न सकेका छैनन्। 

यसै वर्षको वैशाख १२ गते प्रदर्शनमा आएको फिल्म ‘खेल’मा सुरक्षाको मुख्य भूमिका थियो। अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशन तथा लविसराज महर्जन र आशिषराज महर्जनको निर्माण रहेको फिल्मले न दर्शकको साथ पायो, न त लगानी नै सुरक्षित गर्न सक्यो। अझ भनौं, दर्शकले फिल्म हलमा लागेको र उत्रिएको पत्तै पाएनन्।

सुरक्षाकै मुख्य भूमिका रहेको अर्को फिल्म ‘कोशेढुङ्गा’को अवस्था पनि निराशाजनक रह्यो। गत भदौ १२ गतेबाट प्रदर्शनमा आएको यो फिल्ममा करिब ३ करोड रुपैयाँ लगानी गरेको चर्चा थियो, तर व्यापार भने ६९ लाख २१ हजार रुपैयाँमा खुम्चियो। सरोज पौडेलको निर्देशन र प्रेबिल कँडेल तथा किशोर अनुरागको निर्माण रहेको फिल्ममा सुरक्षासँगै प्रवीण खतिवडा र आर्यन सिग्देलको पनि अभिनय थियो। सुरक्षाकै वरिपरि कथा घुमे पनि यसले निर्मातालाई ठूलो घाटा लगायो।

त्यसै गरी, गत कात्तिक २८ गते प्रदर्शनमा आएको फिल्म ‘धागो’को व्यापारिक अवस्था झन् नाजुक देखियो। उदीप राणा थापाको निर्देशन रहेको फिल्मले मात्र ४० हजार ४२० रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्याङ्क छ। नेपाल-भारत सीमा क्षेत्रका नेपालीहरूको सामाजिक र आर्थिक सङ्घर्षमा आधारित यस फिल्ममा सुरक्षाका अलावा बुद्धि तामाङ र सुनील थापा जस्ता स्थापित कलाकारको अभिनय थियो।

पछिल्लो पटक चर्चा रहेका ‘जेरी अन टप’ र ‘पिताम्बर’ जस्ता फिल्ममा पनि सुरक्षाको उपस्थिति मुख्यभन्दा पनि सहायक भूमिकामा सीमित भएको देखिन्छ। ‘जेरी अन टप’मा अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको चर्चाका अगाडि उनी छायामा परेको देखिन्छ। अभिनय क्षमतामा अब्बल मानिए पनि फिल्मले लगातार लगानी उठाउन नसक्दा सुरक्षाको ‘स्टार भ्यालु’माथि प्रश्न उठ्न थालेको छ।  

चैत १८, २०८२ बुधबार ००:१६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।