रेखा पछि सर्दा बिराज ढुक्क, बलेले देलान् त चुनौती

रेखा पछि सर्दा बिराज ढुक्क, बलेले देलान् त चुनौती

काठमाडौं : कुनै समय नेपाली फिल्म क्षेत्रमा अभिनेता बिराज भट्टको बेग्लै चाम थियो। एक्सन नायकका रूपमा स्थापित बिराजका फिल्मप्रति दर्शकको विशेष आकर्षण रहने गर्थ्यो। 

तर, पछि नेपाली फिल्ममा सोचेजस्तो सफलता मिल्न छाडेपछि उनी भोजपुरी फिल्म उद्योगतर्फ लागे र त्यहाँ लामो समय व्यस्त रहे। पछिल्ला वर्षहरूमा भोजपुरीमा पनि उनको प्रभाव पहिले जस्तो रहन सकेन।

भोजपुरीबाट पुनः नेपाली फिल्ममा फर्कन बिराजले निकै प्रयास गरे। यसबीचमा नेपाली फिल्मको शैली फेरिएको थियो। दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल, पशुपति राई, नाजिर हुसेन जस्ता नाट्यशाला (थिएटर) बाट आएका कलाकारहरूको पकड बलियो भइसकेको थियो। यस्तो अवस्थामा बिराजले आफैँ लगानी र निर्देशन गरेर फिल्म ‘साङ्लो’ निर्माण गरे। तर, उक्त चलचित्र व्यापारिक रूपमा सफल हुन सकेन। अभिनय र निर्देशन दुवै पक्ष सम्हाल्दा उनले अपेक्षित सफलता प्राप्त गर्न सकेनन्।

केही समयको अन्तरालपछि बिराजले छोरा समीर भट्टलाई डेब्यु गराउँदै फिल्म ‘१२ गाउँ’ निर्माण गरे। समीरको पहिलो फिल्म भएकाले दर्शकमा उनले कस्तो अभिनय गरे होलान् भन्ने कौतुहलता थियो। फिल्मले समीक्षात्मक रूपमा मिश्रित प्रतिक्रिया पाए पनि व्यापारिक रूपमा सफल साबित भयो। देशभरबाट करिब १९ करोड रुपैयाँको सङ्कलन गर्यो। 

फिल्मको सफलतासँगै बिराजले छोरालाई महँगो गाडी उपहार दिए। डेब्यु फिल्म नै सफल भएपछि समीरले आफ्नो पारिश्रमिक ७० लाख रुपैयाँसम्म माग गर्न थालेको चर्चा चलचित्र वृत्तमा चल्यो। यद्यपि, दर्शकले चलचित्रको गुणस्तरभन्दा पनि समीरप्रतिको कौतुहलताका कारण हलसम्म पुगेको कतिपयको विश्लेषण छ।

जसको असर समीरको पछिल्लो चलचित्र ‘बलिदान’मा देखिएको टिप्पणी हुन थाल्यो। निर्देशक तथा निर्माता सन्तोष सेनको ठूलो लगानी र सपना जोडिएको यस प्रोजेक्टले अपेक्षित लय समात्न नसक्दा समीरको ‘स्टारडम’माथि नै प्रश्न उठ्यो।

यसैबीच, अभिनेता बिराज भट्टको पुनः एकपटक ‘अग्निपरीक्षा’ सुरु भएको छ। उनले अभिनय गरेको फिल्म ‘राम नाम सत्य’ प्रदर्शनमा आउन अब दुई साताभन्दा कम समय बाँकी छ। तर, निर्माण पक्षले फिल्मको प्रचारप्रसारमा खासै तदारुकता देखाएको छैन। फिल्मको गीत ‘धागोले बाटेको’ युट्युबमा चर्चामा रहे पनि हालै सार्वजनिक टिजर र अर्को गीत ‘हुम्लाको लिमी’ले सोचेजस्तो चर्चा पाउन सकेको छैन। 

निर्माण पक्षले औपचारिक कार्यक्रमहरू आयोजना गरेर कलाकारहरूको परिचय गराउने कार्यमा पनि सुस्तता देखाएको छ। व्यापक प्रचारप्रसारका बाबजुद पनि फिल्म चल्न गाह्रो भइरहेको समयमा न्यून प्रचारका बीच यो फिल्मले दर्शकलाई कत्तिको आकर्षित गर्ला, त्यो भने आगामी २७ गते नै स्पष्ट हुनेछ।

अर्कोतर्फ, सोही मितिमा प्रदर्शन हुने भनिएको रेखा थापाको चलचित्र ‘३६ को आँकडा’ पछि सरेकाले बिराजलाई केही राहत मिलेको छ। यद्यपि, अब उनले सागर लम्साल (बले) को फिल्म ‘डल्लेले इन्ट्री मार्यो’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

सागर यतिबेला अर्को फिल्म ‘पाँच पाण्डव’ मा पनि व्यस्त छन्। यी दुई फिल्ममध्ये कसले दर्शकलाई हलसम्म तान्न सफल हुन्छ, त्यसको छिनोफानो प्रदर्शनपछि नै हुनेछ। दुई फरक विधाका कलाकारका फिल्मबीचको यो प्रतिस्पर्धालाई चलचित्र क्षेत्रमा चासोका साथ हेरिएको छ। 

चैत १७, २०८२ मंगलबार २३:३९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।