निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको ढाडस, 'तपाईंहरूलाई उड्न र फैलन सघाउँछौं'
काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग मंगलबार भएको भेटमा उनले अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न सरकार तयार रहेको बताए।
अर्थमन्त्री डा वाग्लेले राज्यले निजी क्षेत्रलाई उद्यम विकास र विस्तारका लागि आवश्यक सहजीकरण गर्ने स्पष्ट पार्दै देश निर्माणमा सबै पक्षले साझा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए।
“हामी देश बनाउने हुटहुटीका साथ आएका छौं, अब अर्थतन्त्र बलियो बनाउन हातेमालो गरौं। तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले प्रदान गर्छ,” उनले भने, “इमान्दार उद्योगी-व्यवसायी कानुनी जटिलताका कारण बदनाम बन्ने अवस्था आउन नदिन सरकार प्रतिबद्ध छ। रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई राज्यका तर्फबाट कुनै किसिमको हैरानी हुन नहुने अवस्था बनाउन हामी प्रतिबद्ध छौं।”
अर्थमन्त्री डा वाग्लेले उद्योग-व्यवसाय प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था र सहजीकरणका विषयमा निजी क्षेत्रबाट सुझाव मागिनेसमेत बताए। “अर्थतन्त्र निर्माणका लागि राज्यले गर्नुपर्ने सबै कार्य गर्न तयार छौं, तर निजी क्षेत्र पनि इमानदार हुनुपर्छ,” उनले भने।
अर्थमन्त्री डा वाग्लेले मुलुकको सर्वाङ्गीण विकासका लागि सबै पक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै निजी क्षेत्रसँग पारदर्शिता र जिम्मेवारीको अपेक्षा गरे। “निजी क्षेत्र इमानदार भए राज्यले दिलोज्यान दिएर सहयोग गर्छ, म त्यसको जिम्मा लिन्छु,” उनले भने, “तर नियोजित र प्रायोजित गल्ती तथा बेइमानीमा भने सरकार निर्मम हुन्छ।”
अर्थमन्त्री डा वाग्लेले नेपाल अल्पविकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रको चिन्तालाई आफूले बुझेको उल्लेख गर्दै तत्काल त्यस्तो अवस्था नआउने बताए।
चैत १७, २०८२ मंगलबार २२:२५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।