दीपक भट्टको कालो साम्राज्य : जगदम्बाको ४५ करोड माथ गर्नेगरि खुल्यो ३ अर्ब ८१ करोडको घोटाला !

दीपक भट्टको कालो साम्राज्य : जगदम्बाको ४५ करोड माथ गर्नेगरि खुल्यो ३ अर्ब ८१ करोडको घोटाला !

काठमाडौं : दीपक भट्टले ४५ करोडसँगै तीन अर्ब ८१ करोड दुरुपयोग गरेर नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीको सेयर किनेको खुलेको छ।

उनी हिमालयन रिइन्स्योरेन्सका संस्थापक हुन् भने नेपाल रिइन्स्योरेन्स यसको प्रतिस्पर्धी कम्पनी हो। भट्टको आर्थिक गतिविधिबारे सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानकोक्रममा उनले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडसहित अन्य कम्पनीको शेयर किन्न त्यसका सहायक कम्पनीहरूबाट तीन अर्ब ८१ करोड रकम लिएको खुलेको हो।

त्यसबारे बीमा प्राधिकरणले अनुसन्धान गरेर विभागलाई प्रतिवेदन बुझाएको थियो। विभागको अनुसन्धानमा भट्टले आफू संस्थापक रहेको हिमालयन रिइन्योरेन्सबाट २ अर्ब ७३ करोड रकम लिएका थिए। उनले हिमालयनका सहायक कम्पनीहरू हिमालयन सेक्युरिटिजबाट २२ करोड, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट ३३ करोड, एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड गरेर विभिन्न मितिमा ३ अर्ब ८१ करोड ४६ लाख रकम निकालेर भृकुटी स्टक ब्रोकिङ कम्पनीबाट सेयरहरू किनेका थिए।

विभागको अनुसन्धानमा भट्टले ती संस्थाहरूबाट रकम निकालेर दुरुपयोग गरेको निष्कर्ष निकालेर त्यसमा बीमा सम्बन्धी कानुन उलङ्घन भएको छ या छैन भनेर बीमा प्राधिकरणलाई अनुसन्धान गर्न पत्र पठाएको थियो। यस अगाडि नै भट्ट शंकर समूहको जगदम्बा स्टिलबाट ४५ लाख रकम लिएर हिमालयन रिइन्स्योरेन्समा लगानी गरेको विषयमा सम्पत्ति शुद्धीकरण विभाग र नेपाल राष्ट्र बैंकको अनुसन्धानको दायरामा थिए। 

भट्टले फैलाएको अवैध धनको साम्राज्य

सामान्य ट्राभल्स एजेन्सीबाट व्यवसाय सुरु गरेका भट्ट नेपाली सेना र नेपाल प्रहरीको|हतियारको ठेक्काहुँदै चिनिया लगानीको हाइड्रोमा पुगेका थिए। त्यसपछि उनी शंकर समूहसँग नजिक भए। शंकर समूहको विश्वासपात्र भएपछि उनले राजनीतिक क्षेत्रमा प्रभाव बढाउँदै वित्तिय क्षेत्रमा प्रभाव बढाउन थाले। 

उनको हैसियत नेपाली कांग्रेस, एमाले अनि तत्कालीन माओवादी केन्द्रका नेतृत्वमध्ये जो प्रधानमन्त्री र अर्थमन्त्री भएपनि आफू अनुकूल काम गराउन सक्ने तहको बनिसकेको थियो। कतिसम्म भने अर्थमन्त्रीले चाहेर पनि उनको इच्छा विपरित काम गर्न सक्ने अवस्था थिएन।

यी तीन दलमध्ये जसको नेतृत्वमा सरकार बने पनि आर्थिक क्षेत्रको नियामक निकायलाई प्रभावमा पारेर आफू अनुकूल निर्णय गराउन सक्ने तहमा पुगेका उनको नजर वित्तिय नियामक निकायमा पर्यो। बीमा संस्थान, धितोपत्र बोर्डहुँदै राष्ट्र बैंकसम्म उनको प्रभाव देखिन थाल्यो।

आफ्नो स्वार्थ अनुकुलको काम गराउन राजनीतिक प्रभावका आधारमा आफूले भनेको मान्नेलाई नियुक्त गराउने अनि निर्णय गराउन सक्रिय देखिए। बीमा सम्बन्धी ज्ञानै नभएका सूर्यप्रसाद सिलवाल​​​​​​​लाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भए। त्यसको प्रभाव रिइन्स्योरेन्सको अनुमतीमा देखिइहाल्यो। भट्टसहितको संलग्नता रहेको हिमालयन रिइन्स्योरेन्सले मात्र मान्यता पाएन उनीसहितको समूहका ६ वटा कम्पनीले लघु बीमा व्यवसाय स्थापनाको अनुमति पत्र पाए।

धितोपत्र बोर्डमा  अध्यक्ष नियुक्त भएका रमेशकुमार हमाललाई पनि उनले नै लगेको दाबीहरु सार्वजनिक भए। उनले हिमालय रिइन्स्योरेन्सलाई प्रिमियम मुल्यमा शेयर निकाल्न बाधक रहेको कानुनै बदलेर शंकाको पुष्टी गरिदिए। उनको कार्यकालमा भएका अधिकांश निर्णयहरू भट्ट संलग्न समूहको स्वार्थमा भएको देखिन्छ।

भट्ट जोडिएको हिमालयन रिइन्स्योरेन्स अनुमति पाउनेदेखि लिएर यसको प्रिमियर शेयर निष्कासनसम्ममा विवादै छ। हिमालयन रिइन्स्योरेन्समा भट्टसहित शंकर समूहका साहिल र सुलभ अग्रवाल, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, सतिश मोर, राजेन्द्र खेतान, कैलाश शिरोहिया, शशिकान्त अग्रवाल लगायतका प्रभावशाली उद्योगी र व्यापारीसँगै मिडिया सञ्चालक समेत सञ्चालक छन्।

यो कम्पनीको प्रिमियर सेयर निष्कासनका लागि तत्कालीन बोर्ड अध्यक्ष हमालले नियमै बदलेर सहजीकरण गरेको आरोप लाग्दै आएको छ। हमालको सहयोगमा यो कम्पनीले एक सय दरको सेयर २ सय ६ रुपैयाँका दरले बेचेर सर्वसाधारण नागरिकबाट ३ अर्ब बढी रकम संकलन गरेको थियो।

उनी पछिल्लो समय हिमालयन स्टक एक्सचेन्जको नाममा निजी स्टक एक्सचेन्जको अनुमति लिन सक्रिय थिए। यस विषयमा विवाद हुँदा माओवादी केन्द्र र एमालेबीचको सत्ता सहकार्य नै टुटेको थियो।

उनै भट्टको एकल लगानी रहेको इन्फिनिटी होल्डिङ्स नयाँ स्टक एक्सचेन्जको अनुमति पाउन सक्रिय भयो। हमालले आफ्नो कार्यकालमा नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन निकै प्रयास गरेका पनि थिए। तर विवादै विवादका कारण उनले भ्याएनन्। उनको कार्यकाल सकियो।

दीपक भट्टको मुख्य सहयोगी शंकर ग्रुपका तीन सदस्य।हमालपछि बोर्डमा नियुक्त भएका सन्तोषनारायण श्रेष्ठ समेत भट्टसँग जोडिएर विवादमा आए। उनको नियुक्तीको उदेश्य नयाँ स्टकलाई अनुमती दिनु रहेको देखियो। नियुक्त भएपछि उनले नयाँ स्टकलाई अनुमति दिने पक्षमा सार्वजनिक रूपमै सक्रिय देखिए पनि।

भट्ट विरुद्ध विभिन्न नियामक निकायमा उजुरी नपरेका हैनन्, अनुसन्धान नभएका पनि हैनन्। तर उनको राजनीतिक पहुँचका कारण बदमासी खुल्ला पनि अनुसन्धान र कार्वाहीको हिम्मत गर्न सकेनन्। नेपाल राष्ट्र बैंकको अनुसन्धानमा अवैध रुपमा जगदम्बाबाट भट्टको खातामा र भट्टको खाताबाट हिमालयन रिइन्स्योरेन्समा ४५ करोड गएको खुलेको चार वर्ष बढी भयो। तर न कुनै गभर्नरले कार्वाहीको हिम्मत गर्न सके न त अन्य निकायले।

गम्भिर आर्थिक अपराधमा भट्ट संलग्न रहेको खुले पनि राष्ट्र बैंकले सम्पत्ती शुद्धीकरण विभागलाई अनुसन्धान गर्न भन्ने अनि विभागले राष्ट्र बैंकलाई आफैँ गर्नु भन्दै पत्र पठाउनेक्रममै समेटियो। फागुन २१ को निर्वाचनले ठूला मानिएका दल बढारिए। शेरबहादुर देउवा उम्मेदवार पनि हुन पाएनन्। केपी ओली पराजित भए। पुष्पकमल दाहाल प्रचण्ड सांसद त भए त शक्तीहिन।

​​​​​​​अनि बल्ल सम्पत्ती शुद्धीकरण विभागले अनुसन्धान अगाडि बढाउँदै विदेश भाग्ने आशंकामा उनको राहदानी कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गर्यो। विभागले सोमबारै उनको राहदानी कालोसूचीमा राख्यो।

यसले उनी विरुद्धको छानबिन अन्तिम चरणमा पुगेको देखिन्छ। तर अभियोग पत्र दर्ता नभई मुद्दा नै चल्छ भन्न सकिने अवस्था भने छैन।

किनकी, अहिलेका गृहमन्त्री सुदन गुरुङको संस्था हामी नेपालले यी नै भट्ट र शंकर समूहका सञ्चालकलाई सम्मान गरेका थिए। भट्ट अनि शंकर समूहका सञ्चालकसँग उनी निकटै देखिन्छन्।

सम्बन्धित समाचार

चैत १७, २०८२ मंगलबार २२:१०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।