कम्बोडियाको 'स्क्यामिङ सेन्टर'बाट १२ नेपालीको उद्धार

कम्बोडियाको 'स्क्यामिङ सेन्टर'बाट १२ नेपालीको उद्धार

काठमाडौं : कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रमार्फत विभिन्न गैरकानुनी काममा लगाइएका १२ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ।

विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अनलाइन ठगी तथा कम्बोडियामा बिना भिसा बसिरहेका १२ नेपालीको थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरी मंगलबार स्वदेश फर्काइएको हो।

यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ। कम्बोडियामा नेपाली नागरिक अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएको र बिना भिसा वा भिसा-अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।

कम्बोडियामा माथि उल्लेखित अवस्थामा बसिरहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर-आवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ। 

स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरै जनाको गुनासो आएको छ। त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र जारी गरिदिने गरेको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई हजार ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ।

चैत १७, २०८२ मंगलबार २१:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।