सेवाबाट बिदा भए प्रधानन्यायाधीश राउत
काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवाबाट बिदा भएका छन्। उनलाई मंगलबार सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले बिदाइ गरिन्।
विस २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त हुनुभएका राउत ६५ वर्ष उमेर हद्दका कारण अनिवार्य अवकाश भएका हुन्। उनको अवकाशपछि बुधबारदेखि वरिष्ठतम न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छन्।
प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।
प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।
चैत १७, २०८२ मंगलबार २१:०५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।