इनिसा विक प्रकरणका चारै जनालाई बाल सुधार गृहमा पठाउने आदेश
सुर्खेत : बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनाका चार जना आरोपितहरूलाई जिल्ला अदालत सुर्खेतले बाल सुधार गृह पठाउने आदेश दिएको छ। मंगलबार अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित बालकहरूलाई बाल सुधार गृह पठाउने आदेश दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।
“चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो। घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म बाल सुधार गृहमै राखेर मुद्दा अघि बढाउने आदेश भएको छ,”सूचना अधिकारी उज्ज्वल रावलले उकेरासँग भने।
अदालतमा सोमबारदेखि थुनछेक बहस चलेको थियो। मंगलबार पनि साढे आठ बजेसम्म पीडित पक्षका आफन्तहरू अदालतको गेटमै धर्ना बसेका थिए।
प्रहरीले चैत ११ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दर्ता गराएको थियो।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन्। फागुन २३ गते शनिवार बिहान ६ बजे नै प्रयोगात्मक कक्षामा जाने भन्दै घरबाट निस्किएकी उनी बिहान साढे ९ बजे बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे बालकलाई नियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका थिए। उनले आफूले अन्य साथीहरूलाई सहयोगका लागि बोलाएको बयानमा भनेका थिए। त्यस्तै १४, १५ र १६ वर्षीय तीन बालकलाई २४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।
घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको प्रहरीले सामूहिक नभएर एकल करणी भएको निष्कर्ष निकालेको थियो। यद्यपि, सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रमा भने सामूहिक बलात्कार भएको दाबी गरिएको थियो।
२४ दिनसम्म उठेन शव
इनिसा विकको शव २४ दिनसम्म पनि उठ्न सकेको छैन। उनको शव अझै प्रदेश अस्पतालको शव गृहमा राखिएको छ। शवको दाहसंस्कारबारे परिवारले अझै निर्णय गरेको छैन।
मृतक इनिसाकी आमा तिला विकले छोरीको हत्यामा संलग्नहरूलाई अदालतले गरेको आदेशको सम्मान गर्दै आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्ष न्यायको आसा गरेको बताइन्।
चैत १७, २०८२ मंगलबार २१:००:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।