प्रधानमन्त्री बालेनको सार्वजनिक भइसकेको आधिकारीक फोटोमा किन चलाइयो फोटोसप ?

प्रधानमन्त्री बालेनको सार्वजनिक भइसकेको आधिकारीक फोटोमा किन चलाइयो फोटोसप ?

काठमाडौं : भिन्न भिन्न तस्बिर प्रयोग हुन थालेपछि मंगलबार सूचना तथा प्रसारण विभागले प्रधानमन्त्री बालेन शाहको आधिकारिक तस्बिर सार्वजनिक गर्यो। सरकारी कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको आधिकारिक तस्बिर  राख्ने प्रचलन छ। सोही प्रयोजनका लागि तस्बिर सार्वजनिक गरिएको थियो।

तस्बिरमा उनी कालो चस्मा, दौरा-सुरुवाल, कालो कोट, दुबै कानमा टप र शिरमा भादगाउँले टोपीमा देखिन्छन्। तर, आधिकारीक तस्बिर सार्वजनिक गरिएको केही समयमै संशोधन भयो। उस्तै देखिने अर्को तस्बिर पुन सार्वजनिक गरियो। उस्तै उस्तै देखिने भएकाले झट्ट हेर्दा दोस्रो तस्बिरमा फोटोसप चलाएर गरिएको परिवर्तन याद हुन्न। तर केही बदलिएको छ।

सुरुको तस्बिरमा बालेनले लगाएको चश्मामा ब्राण्डको नाम देखिएको थियो। अर्थात् उनले ‘रेबन’ ब्राण्डको चस्मा लगाएका थिए। नेपालको प्रधानमन्त्रीको आधिकारीक तस्बिरले कुनै एक निश्चित ब्रान्डको प्रचार गरेको जस्तो हुने भएपछि एडिट गरेर 'रेबन' नाम मेटाइएको दोस्रो तस्बिर सार्वजनिक गरियो। तर टपसहितका अन्य कुराहरू यथावत् छन्।

रेबनलाई 'प्रिमियम एक्सेसिबल लक्जरी' ब्राण्डका रूपमा लिइन्छ। साधारण चस्माको तुलनामा यो निकै महँगो र विशिष्ट हुन्छ। रेबन लगाउनुलाई समाजमा एक प्रकारको 'स्ट्याटस सिम्बोल' र परिष्कृत रुचिको रूपमा लिइन्छ। प्रधानमन्त्री बालेनको पहिलो सार्वजनिक तस्बिरमा पनि सोही ब्राण्डको लोगो प्रस्ट देखिएको थियो। 

नेपालमा प्रधानमन्त्री, मन्त्रीहरू र उनीहरूका परिवारले प्रयोग गर्ने ब्राण्डका विषयमा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ। जेनजी आन्दोलनको क्रममा राजनीतिक पदमा रहेकाहरूको सन्तानको महँगो जीवनशैलीमाथि प्रश्न उठाउँदै  'नेपो बेबी' अभियानमा चलाएका थिए।

मुख्य कांग्रेस सभापति शेरबहादुर देउवाको छोरा जयवीर देउवा, सर्वहाराको दल दाबी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी गंगा, नातिनी स्मिताको महँगो शौक लगायतको तस्बिर र भिडियो सार्वजनिक गरेर यसको स्रोतबारे प्रश्न गरेका थिए।

आफूहरूलाई जेनजी पुस्ताको सदस्य दाबी गर्नेहरूले सामाजिक सञ्जालमा नेता, सरकारी कर्मचारी, न्याय क्षेत्रका व्यक्तिहरूको सन्तानले सामाजिक सञ्जालमा राखेको सम्पन्न जीवनशैलीका तस्बिर र भिडियो सार्वजनिक गरेका थिए।

यस अगाडि राष्ट्रपति रामचन्द्र पौडेलको आधिकारिक तस्बिर सार्वजनिक भइसकेपछि यसैगरि फोटोसप चलाएको खुलेको थियो। वास्तविक तस्बिरमा उनको गालामा कोठी थियो। पछि फोटोसपबाट गालाको कोठी हटाएर उनको अनुहार पनि हल्का चिल्लो पारिएको थियो।

चैत १७, २०८२ मंगलबार १९:४३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।