नैतिक जिम्मेवारी रहेका ओली र लेखक हिरासतमा, गोली चलाउने अधिकार भएका सिडिओ हाजिर जमानीमा छुटे

नैतिक जिम्मेवारी रहेका ओली र लेखक हिरासतमा, गोली चलाउने अधिकार भएका सिडिओ हाजिर जमानीमा छुटे

काठमाडौं : भदौ २३ को आन्दोलनमा गोली चलाउने आदेश दिएको भन्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले जघन्य अपराधमा कार्वाहीको सिफारिस गरेको  काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिर जमानीमा छुटेका छन्।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको उनलाई जिल्ला सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाड्न आदेश दिएसँगै उनी मङ्गलवारै प्रहरी कार्यालयमा खोजेकोमा बेलामा उपस्थित हुने सर्तमा कागज गरेर छुटेका छन्।

यही आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक भने हिरासतमा छन्। उनीहरुविरुद्ध थुनामा राख्नु पर्ने जिकिर गरेको जिल्ला सरकारी वकिलको कार्यालयले रिजालको हकमा भने हाजिर जमानीमा छाड्ने निर्णय गर्यो।

जेनजी आन्दोलनको बेलामा रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए। सुरक्षा योजना कार्यान्वयनदेखि जिल्ला सुरक्षा समितिको नेतृत्व उनैले गरेका थिए। स्थानीय प्रशासन ऐन अनुसार शान्ती सुरक्षा कायम राख्ने र गोली चलाउने वा नचलाउने सो अधिकार प्रमुख जिल्ला अधिकारीसँग हुन्छ। त्यसैको आधारमा आयोगले उनीमाथि हेलचेक्राइपूर्ण आदेशबाट ज्यान मराउने कार्यमा संलग्न देखिएको भन्दै जघन्यमा कार्वाहीको सिफारिस गरेको थियो।

चैत १७, २०८२ मंगलबार १९:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।