नक्कली प्रमाणपत्रको भरमा नौ वर्ष 'जागिर', एक करोड बढी तलब सुविधा बुझ्ने कम्पनी सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्रको भरमा नौ वर्ष 'जागिर', एक करोड बढी तलब सुविधा बुझ्ने कम्पनी सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोखरेलविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

नक्कली कार्य अनुभवको प्रमाणपत्र र झुटो विवरण पेस गरी सार्वजनिक ओहोदाको पद प्राप्त गरेको ठहर गर्दै आयोगले मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको उक्त कम्पनीमा सातौं तहको कम्पनी सचिव पदमा नियुक्त हुन पोखरेलले 'गजाङ उपत्यका हाइड्रो पावर लिमिटेड'को झुटो अनुभव प्रमाणपत्र पेस गरेका थिए। उनले सो हाइड्रो पावरको सामान्य प्रशासन तथा आर्थिक प्रशासन शाखामा २०७० असोज ७ देखि २०७३ मङ्सिर ३० सम्म वरिष्ठ अधिकृतका रूपमा कार्य गरेको दाबी गरेका थिए।

तर, अनुसन्धानका क्रममा गजाङ उपत्यका हाइड्रो पावर लिमिटेडले पोखरेल आफ्नो कम्पनीमा कार्यरत नरहेको र उनले पेस गरेको पत्रको मिति तथा चलानी नम्बर कार्यालयको रेकर्डमा नभएको लिखित जानकारी दिएपछि पोखरेलको दाबी झुटो पुष्टि भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, उक्त पदका लागि कानुन विषयमा स्नातक (एलएलबी) उत्तीर्ण हुनुपर्ने शैक्षिक योग्यता तोकिएकोमा पोखरेलले एमबीएस उत्तीर्ण भएको आधारमा नियुक्ति लिएको समेत अनुसन्धानबाट खुलेको छ। २०७३ फागुन १० देखि २०८२ पुस २० गतेसम्म सेवा करारमा बहाल रहँदा उनले पारिश्रमिक र अन्य सुविधाबापत कुल १ करोड ७ लाख बढी रुपैयाँ बुझेका थिए।

पोखरेलको यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले उनलाई सोही ऐन अनुसार कैद र जरिवाना सजायको मागदाबी गरेको छ। पोखरेलको नियुक्तिलाई २०७४ जेठ २२ गतेको सञ्चालक समितिले अनुमोदन गरेको थियो।

चैत १७, २०८२ मंगलबार १८:२१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।