अनमोल अभिनित ‘बाटुलो जून’दसैँमा रिलिज हुने, आधा दर्जन फिल्मसँग महाभिडन्त निश्चित
काठमाडौं : अनमोल केसीको जन्मदिनको विशेष अवसर पारेर उनको नयाँ चलचित्र ‘बाटुलो जून’ को प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी वर्ष २०८३ को दशैंको फुलपातीमा प्रदर्शन हुने घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। पृष्ठभूमिमा पूर्णिमाको टहलाउँदो जून (बाटुलो जून) राखिएको पोस्टरमा अनमोलले एक हातमा राँको बोकेका छन् भने अर्को हातले प्रिन्सीको पाउजु लगाएको खुट्टा समातेका छन्। यो दृश्यले फिल्म पूर्ण रूपमा लभस्टोरी जनरामा आधारित रहेको सङ्केत गरेको छ।
अनमोल केसीका बुवा अर्थात अभिनेता भुवन केसीको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रका निर्माता जीया केसी र भविष्य खड्का हुन्।
निर्माता केसीका अनुसार यो फिल्म दर्शकले आफुलाई ३० वर्ष पहिलेको नेपाली समाजमा पाउने बताईन्। उनका अनुसार फिल्मबाट दर्शकले वर्तमानको आभाष पनि उत्तिकै पाउने छन्।
चलचित्रमा अनमोल र प्रिन्सीका साथै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहेको छ।
सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रको सुटिङ काठमाडौ, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा गरिँदै छ।
तेजबिक्रम केसी कार्यकारी निर्माता रहेको यस फिल्मलाई सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले लेखेका हुन्। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक र राजेश श्रेष्ठको छायांकन रहेको यस फिल्मलाई नयाँ वर्षमा खिचिने निर्माण पक्षको भनाई छ।
अनमालको ‘बाटुलो जुन’सँगै आगामी दसैंमा अशोक शर्माको ‘डवल त्रिपल’, दीपेन्द्र लामाको,‘छ माया छपक्कै २’, वसन्त निरौलाको ‘पाँच पाण्डव’, विराज भट्टको ‘१२ गाउँ २’, ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’, चन्द्र पन्तको ‘आ बाट आमा २’ र परिच्छेद सेनको ‘महाराजधिराज’ पनि प्रदर्शनमा आउने तयारीमा छन्।
यति धेरै प्रतिक्षित चलचित्रहरूको भीडमा अनमोल केसीको ‘बाटुलो जून’ले बक्स अफिसमा कस्तो प्रभाव पार्ला? यो भने हेर्न बाँकी नै छ। तर, आगामी दशैं नेपाली दर्शकका लागि निकै रोचक हुने निश्चित छ।
चैत १७, २०८२ मंगलबार १४:५७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।