सीमामा गस्ती बढाउन र विपद् पूर्वतयारी चुस्त राख्न सशस्त्र प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

सीमामा गस्ती बढाउन र विपद् पूर्वतयारी चुस्त राख्न सशस्त्र प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन
फाइल तस्बिर

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको उच्चस्तरीय सुरक्षा टोलीबीच विपद् व्यवस्थापन र सीमा सुरक्षाका विषयमा छलफल भएको छ।

मन्त्रालयमा भएको छलफलमा मुख्यगरी सम्भावित विपद्को जोखिम र त्यसको न्यूनीकरणका विषयमा समीक्षा गरिएको थियो। बैठकमा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई चुस्त दुरुस्त राख्न विस्तृत छलफल भएको छ।

गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व रणनीति तय गर्न, आवश्यक स्रोतसाधनको उचित व्यवस्थापन गर्न र सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

यसैगरी, बैठकले सीमा सुरक्षालाई थप मजबुत बनाउने निर्णय गरेको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, अपराध र घुसपैठ नियन्त्रणका लागि सीमा गस्तीलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

खुला सीमानाको फाइदा उठाउँदै हुने सबै प्रकारका तस्करी र अवैध ओसारपसारलाई पूर्ण रूपमा नियन्त्रण गर्न गृहमन्त्री गुरुङले सम्बन्धित सुरक्षा निकाय र अधिकारीहरूलाई निर्देशन दिएका छन्।

देशको आन्तरिक सुरक्षा र सीमा रक्षामा सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण हुने भन्दै मन्त्री गुरुङले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।

चैत १७, २०८२ मंगलबार १४:२६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।