वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थाको सूचीकरण खुला

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थाको सूचीकरण खुला

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण (मेडिकल) गर्ने स्वास्थ्य संस्थाहरूको सूचीकरण खुला गरेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेद्वारा चैत १७ गते जारी प्रेस विज्ञप्तिअनुसार, मन्त्रीस्तरको निर्णयबाट स्वास्थ्य संस्थाहरूको सूचीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो।

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरूले सूचीकरणका लागि आवेदन दिन सक्नेछन्।

मन्त्रालयले ‘स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२’ को दफा ३ मा भएको व्यवस्थाबमोजिम सूचीकरणको प्रक्रिया खुला गरेको जनाएको छ।

विज्ञप्तिमा कानुनी आधारहरू समेत स्पष्ट पारिएको छ। वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ को उपदफा (१) मा वैदेशिक रोजगारका लागि जाने कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्था छ। 

त्यसैगरी, वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५क. को उपनियम (९) मा नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारकै स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट गराउन कुनै बाधा नपर्ने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ। 

यस निर्णयसँगै अब मापदण्ड पुगेका थप सरकारी तथा निजी (स्वीकृति प्राप्त) स्वास्थ्य संस्थाहरूले वैदेशिक रोजगारीको मेडिकल गर्ने अनुमति पाउनका लागि सूचीकरण प्रक्रियामा सहभागी हुन पाउने बाटो खुलेको छ।

चैत १७, २०८२ मंगलबार १४:११:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।