ओली पक्राउको विरोधका कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बस्दै

ओली पक्राउको विरोधका कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधका कार्यक्रम तय गर्न एमालेको सचिवालय बैठक बसिरहेको छ।

पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ‘प्रतिशोधपूर्ण गतिविधि’को प्रतिकार गर्नका लागि छलफल र ठोस निर्णय लिने एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनामा जाँचबुझ गर्न बनेको आयोगले तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीसहितलाई कारबाहीकाे सिफारिस गरेको थियो।

सोही सिफारिसको आधारमा नवगठिन बालेन्द्र शाह नेतृत्वको सरकारले कारबाही अघि बढाउँदै उनलाई पक्राउ गरेको थियो। उनको पक्राउपछि पार्टीले अहिले आन्दोलनका कार्यक्रम अघि बढाइरहेको छ।

एमाले सचिव महेश बस्नेतले बैठक जारी रहेको जानकारी दिँदै अध्यक्ष ओलीलाई लक्षित गरेर भइरहेका अवाञ्छित र प्रतिशोधपूर्ण कार्यको पार्टीले डटेर प्रतिवाद गर्ने बताएका छन्। 

सचिव बस्नेतका अनुसार, जारी बैठकले अध्यक्ष ओलीमाथि नियोजित रूपमा भइरहेका आक्रमण र षड्यन्त्रको गम्भीर समीक्षा गर्दै त्यस्ता गतिविधिको विरोधमा पार्टी पङ्क्तिलाई कसरी परिचालन गर्ने भन्ने टुंगो लगाउनेछ।

बैठकले सडकदेखि सदनसम्मका कस्ता प्रकृतिका विरोध कार्यक्रमहरू अगाडि बढाउने भन्ने विषयमा आजै निर्णय गर्नेछ

 

चैत १७, २०८२ मंगलबार १३:१२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।