डिजिटल प्लेटफर्ममा सुस्त तुलसी घिमिरेको ‘पहाड’, गीतमा दर्शकको खडेरी
काठमाडौं : नेपाली चलचित्रको बजारमा डिजिटल प्लेटफर्म (युट्युब, फेसबुक र टिकटक) लाई दर्शकको रुचि मापन गर्ने प्रमुख आधारका रुपमा हेरिन्छ।
यहि आधारमा हेर्दा आगामी बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पहाड’का गीतहरूमा निकै कम भ्युज देखिन्छ। पहाडका कुनै पनि गितले अपेक्षित दर्शक तान्न सकेका छैनन्।
एक साताअघि ठुलो तामझामका साथ सार्वजनिक गरिएको गीत ‘मोहनी लगाउने’ ले हालसम्म जम्मा १ लाख ७ हजार भ्युज मात्र प्राप्त गरेको छ। जसमा २ हजार ५ सय लाइक र २१० वटा मात्र कमेन्ट रहेका छन्।
यस्तै, २० घण्टाअघि युटुबमा अपलोड गरिएको अर्को गीत ‘ओम नमस् शिवाय’ ३१ हजारले हेरेका छन्। १२ सय लाइक र ७४ वटा कमेन्टमा सीमित यो गीतले डिजिटल बजारमा कुनै हलचल ल्याउन सकेको देखिँदैन।
गीतमा निर्देशक घिमिरेकै कान्छी छोरी पञ्चमी घिमिरे,अरुण क्षेत्री, सुनिल थापा, विपिन कार्की, रबिन्द्रसिंह बानियाँ, रेणुनाथ योगी लगायतले अभिनय गरेका छन्।
निर्देशक तुलसी घिमिरेले आठ वर्षअघि ‘दर्पण छायाँ २’ निर्माण गरेका थिए, जसले बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेन। सोही असफलतापछि लामो अन्तरालमा ‘पहाड’ निर्माण गरिएको हो, जसमा उनले आफ्नी छोरीलाई अभिनेत्रीका रूपमा डेब्यु गराएका छन्।
चलचित्रमा विपिन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रबिन्द्रसिंह बानियाँ र अरुण क्षेत्री जस्ता प्रभावशाली कलाकारहरूको अभिनय रहेको छ। यद्यपि, यति ठुलो स्टार कास्ट र दिग्गज निर्देशकको नाम हुँदाहुँदै पनि फिल्मको गीत र टिजरले दर्शकलाई आकर्षित गर्न सकेको भने छैन।
डिजिटल प्लेटफर्ममा देखिएको यो 'भ्युजको खडेरी' हलसम्म पुग्दा उत्साहमा बदलिन्छ वा 'दर्पण छायाँ २' कै नियति दोहोरिन्छ, त्यसको नतिजाका लागि भने बैशाख १ गते नै कुर्नुपर्ने देखिन्छ।
चैत १७, २०८२ मंगलबार १३:१२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।