‘लल्लनटप’ छाडेका शौरभ हिन्दी संस्करणको सम्पादकीय जिम्मेवारीसहित ‘इन्डियन एक्सप्रेस’मा
काठमाडौं : हिन्दी डिजिटल पत्रकारिताका चर्चित पत्रकार सौरभ द्विवेदी ‘द इन्डियन एक्सप्रेस’ ग्रुपमा आबद्ध भएका छन्।
’इन्डिया टुडे’ ग्रुपको ‘द लल्लनटप’का संस्थापक सम्पादकका रूपमा ख्याति कमाएका द्विवेदीले उक्त संस्था छोडेर इन्डियन एक्सप्रेसको हिन्दी संस्करणको नेतृत्व सम्हाल्न लागेका हुन्।
इन्डियन एक्सप्रेस समूहले आफ्नो डिजिटल उपस्थितिलाई अझ प्रभावकारी बनाउन र हिन्दी भाषी पाठकहरूमाझ पकड बलियो बनाउन द्विवेदीलाई ‘एक्जुकेटिभ एडिटर’ को रूपमा भित्र्याएको जनाएको छ।
‘जनसत्ता’ इन्डियन एक्सप्रेस समूहकै प्रतिष्ठित हिन्दी दैनिक पत्रिका र अनलाइन पोर्टल हो। द्विवेदीले ‘जनसत्ता’ र एक्सप्रेस समूहका अन्य हिन्दी डिजिटल प्लेटफर्महरूको सम्पादकीय नेतृत्व सम्हाल्नेछन्।
उनको आगमनसँगै एक्सप्रेस समूहले परम्परागत समाचार भन्दा अलि फरक, ‘लल्लनटप’ शैलीको भिडियो कन्टेन्ट र ग्राउन्ड रिपोर्टिङलाई प्राथमिकता दिने जनाएको छ।
यसैबीच ‘द इन्डियन एक्सप्रेस’ ग्रुपले ‘द इन्डिनयन एक्सप्रेस हिन्दी’का लागि केही कर्मचारी समेत माग गरेको छन्। जसमा एंकर, राइटर, सोसल मिडिया म्यानेजर, युट्युब म्यानेजर, रिपोर्टर र ट्रेनी मागिएको छ।
‘इन्डिया टुडे’ ग्रुप अन्तर्गतको ‘लल्लनटप’ लाई शून्यबाट शिखरमा पुर्याउन द्विवेदीको ठूलो हात थियो। उनको ‘राजनीति’ र ‘किस्सा’ भन्ने शैलीले युवा पुस्तामाझ निकै लोकप्रियता पाएको थियो।
गम्भीर र विश्वसनीय पत्रकारिताका लागि चिनिने इन्डियन एक्सप्रेसले पछिल्लो समय आफ्नो डिजिटल र क्षेत्रीय भाषाको विस्तारमा जोड दिइरहेको छ। सौरभको आगमनसँगै हिन्दी संस्करणले नयाँ उचाइ लिने द इन्डियन एक्सप्रेस ग्रुपले विश्वास व्यक्त गरेको छ।
चैत १७, २०८२ मंगलबार १२:५८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।