औषधि लिन भारत जान लागेको इरानी हवाइजहाजमा अमेरिकी हवाई आक्रमण

औषधि लिन भारत जान लागेको इरानी हवाइजहाजमा अमेरिकी हवाई आक्रमण

एजेन्सी : इरानको मशहद विमानस्थलमा भएको अमेरिकी हवाई आक्रमणमा परी इरान एयरलाइन्सको एउटा यात्रुवाहक/कार्गो विमान क्षतिग्रस्त भएको छ।

समाचार एजेन्सी पीटीआईले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, उक्त विमान औषधि र मानवीय सहायता सामग्री लिन भारत जाने तयारीमा थियो।

यद्यपि, अमेरिकी अधिकारीहरूले भने अहिलेसम्म यस आक्रमणको आधिकारिक रूपमा पुष्टि गरेका छैनन्। यता, इरानले भने यस घटनालाई ‘युद्ध अपराध’ र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताएको छ।

भारतस्थित इरानी दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै लेखेको छ, ‘उक्त विमान एउटा मानवीय अभियानमा थियो। त्यसमा विभिन्न देशबाट मगाइएका औषधि र चिकित्सा उपकरणहरू ल्याइँदै थियो। यसरी नागरिक विमानलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय उड्डयन नियमहरूको उल्लंघन र मानवीय कानुनका सिद्धान्तविपरीत कार्य हो।’

इरानी दूतावासले सिकागो महासन्धि (१९४४) र मोन्ट्रियल महासन्धि (१९७१) को सन्दर्भ जोड्दै नागरिक विमानको सुरक्षाविरुद्ध हुने कुनै पनि कारबाहीलाई अन्तर्राष्ट्रिय अपराध मानिने स्मरण गराएको छ।

यस घटनापछि इरानी दूतावास र त्यहाँको नागरिक उड्डयन संगठनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग तत्काल कदम चाल्न अपिल गरेका छन्।

उनीहरूले भनेका छन्, ‘यस आक्रमणमाथि तत्काल कारबाही गरियोस्, घटनाका जिम्मेवार पक्षलाई सजाय दिइयोस् र भविष्यमा हुन सक्ने यस्ता खतराहरूलाई रोकियोस्।’

चैत १७, २०८२ मंगलबार १२:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।