देउवा, ओली र प्रचण्डबाट रवितिर सर्दै राजनीतिको ‘पावर सेन्टर’

देउवा, ओली र प्रचण्डबाट रवितिर सर्दै राजनीतिको ‘पावर सेन्टर’

काठमाडौं : फागुन २१ को निर्वाचनपछि नेपाली राजनीतिमा लामो समयदेखि कायम कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र  तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एकाधिकार तोडियो।

विगतमा साना दल र क्षेत्रीय शक्तिहरूको गन्तव्य बन्ने गरेका यी तीन नेताको विकल्पमा अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उदाए।

पछिल्ला राजनीतिक भेटघाटहरूलाई नजिकबाट नियाल्दा नेपाली राजनीतिको शक्ति केन्द्र परम्परागत नेतृत्वबाट विस्तारै रवि लामिछानेतिर सिफ्ट हुन थालेको प्रष्ट देखिन्छ।

यसको पछिल्लो उदाहरण मधेश केन्द्रित दलका शीर्ष नेताहरूले लामिछानेको निवासमा पुगेर गरेका शृङ्खलाबद्ध भेटवार्ता हुन्।

रवि निवासमा महन्थ र प्रभु साह
लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष एवं वरिष्ठ नेता महन्थ ठाकुर र रास्वपा सभापति लामिछानेबीच बुढानीलकण्ठस्थित लामिछानेको निजी निवासमा भेटवार्ता भएको छ।

भेटवार्तामा देशको वर्तमान राजनीति, मधेसको विकास र आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनालगायतका विषयमा गहन छलफल भएको थियो।

भेटपछि दुवै नेताहरू पछिल्लो जनादेशको सम्मान गर्दै समग्र देश र मधेसको विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा एकमत भएको रविको सचिवालयले जनाएको छ।

यसैगरी, मधेश राजनीतिमै प्रभावशाली मानिने आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पनि रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गरेका छन्।

उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ।

राजनीतिमा देखिँदैछ ‘पावर सिफ्ट’
यी भेटघाटहरू सामान्य औपचारिकता मात्र नभई नेपाली राजनीतिमा भइरहेको ‘पावर सिफ्ट’का ज्वलन्त उदाहरण हुन्।

विगतमा सत्ता समीकरण मिलाउन, आफ्ना माग पूरा गराउन वा राजनीतिक सहकार्यका लागि मधेसवादी वा साना दलका नेताहरूको गन्तव्य कि बुढानीलकण्ठ, बालुवाटार, कि बालकोट (ओली), कि खुमलटार हुने गर्दथ्यो। तर, अहिले त्यो कोर्स परिवर्तन भएको छ।

पछिल्लो निर्वाचनले रास्वपालाई दिएको बलियो जनादेशसँगै राजनीतिको गुरुत्वाकर्षण रवितिर तानिएको छ। परम्परागत शक्तिहरू प्रतिको निराशा र नयाँ शक्तिको उदयले देउवा, ओली र प्रचण्डको त्रीकोणात्मक शक्ति अभ्यासमा लामिछाने निर्णायक शक्तिको रूपमा स्थापित भएका छन्।

चैत १७, २०८२ मंगलबार १२:१४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।