‘बालेन सरकार’ले बन्द गरेको बेटिङ एपको खुलेआम प्रचारमा कलाकार, फुटबलरदेखि सेलिब्रिटी आरोहीसम्म

‘बालेन सरकार’ले बन्द गरेको बेटिङ एपको खुलेआम प्रचारमा कलाकार, फुटबलरदेखि सेलिब्रिटी आरोहीसम्म

काठमाडौं : नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद्बाट २४ घण्टाभित्र सम्पूर्ण बेटिङ एपहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो। सोही अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दियो। त्यसैगरी प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता साइटहरूको सूची उपलब्ध गराई बन्द गरिसकेको छ।

प्राधिकरणले यस्ता साइटहरू बन्द भइसकेको भनेर विज्ञप्ति नै निकालिसकेको अवस्था छ। यसका अलावा नेपाल विज्ञापन बोर्डले पनि यस्तो बेटिङ साइटहरूको प्रचारमा नलाग्न भन्दै निर्देशन जारी गरिसकेको छ। उसले आफ्नो विज्ञप्तिमा यस्ता गतिविधि गरेको पाइए उजुरी गर्न समेत आग्रह गरेको छ।

मन्त्रिपरिषद् र नियामक निकायले यस्ता विज्ञापनमा रोक लगाउँदा पनि केही नाम चलेका इन्फ्लुयन्सरहरूले यसको खुलेआमा प्रचार गरिहेका छन्। नेपालमा सञ्चालित विभिन्न बेटिङ साइटहरूले उनीहरूलाई प्रयोग गरेर बेटिङको प्रचार गरिरहेका छन्।

त्यसमध्ये अधिकांशले आफ्नै प्लेटफर्म (फेसबुक, युट्युब र इन्स्टाग्राम)मा बेटिङको प्रचार गरिरहेका छन् भने कतिपय इन्फ्लुयन्सरले आफूले भिडियो रेकर्ड गरिदिएर बेटिङ साइटहरू आफैँले प्रचार फेसबुकमार्फत प्रचार गरिरहेका छन्। केही बेटिङ वेबसाइटहरूले भने उनीहरूलाई रेकर्ड गर्न लगाएको पुराना भिडियो हालेर समेत अहिलेसम्म प्रचारमा छन्।

यसरी खुलेआम रूपमा गैरकानुनी बेटिङ एपको प्रचारमा कमेडियन तथा युट्युबर सजन श्रेष्ठ, कमेडियन तथा गायक कुशल पोखरेल, युट्युबर अनिल सुनार, राइडर तथा युट्युबर बिबिदजंग थापा संलग्न रहेका छन्। यस्तै संलग्न इल्फ्लुयन्सरहरूमा अनिता परियार, राजकुमार थापा मगर, सागर पाण्डे, राष्ट्रिय टोलीका फुटबलर डोना थापा मगर, टुबी गेमरको नामले चर्चित सन्देश तामाङ, आरोही तथा डान्सर कविता नेपाली रहेका छन्।

सजन श्रेष्ठले आफ्नो युट्युबमार्फत वानएक्सबेटको प्रचार गरेर आफ्नो प्रोमोकोड समेत उपलब्ध गराउँदै अवैध सट्टेबाजी एपको प्रवर्द्धन गरिरहेका छन्।

आफूलाई कमेडियन तथा गायक भन्न रुचाउने कुशल पोखरेल ‘आईएमई८८’, आरोही तथा डान्सर कविता नेपालीले ‘जयाबाजी’ तथा इन्फ्लुयन्सरत्रय अनिता परियार, अनिल सुनार र बिबिदजंग थापाले ‘खल्ती८८’को प्रचार गर्दै अवैध सट्टेबाजीको प्रवर्ध्नमा उत्रिएका छन्।

यस्तै राजकुमार थापा मगर ‘जेडब्लु८’, टुबी गेमर भनिने सन्देश तामाङले ‘बिल्ली७७७’ र ‘जयबाजी’, राष्ट्रिय फुटबलर डोना थापा र अर्का कन्टेन्ट क्रियटर सागर पाण्डेले ‘जयाबाजी’को प्रचार गरेका छन्। डोना थापाले राष्ट्रिय फुटबल टोलीबाट आधिकारिक रुपमा सन्यास नलिए पनि उनी नियमित टोलीमा भने पर्ने गरेका छैनन्।

नेपालको विद्यमान कानुनलाई नै चुनौती दिएर बेटिङ एपको प्रचारमा उत्रिने उनीहरू केही प्रतिनिधि पात्र मात्रै हुन्। यीबाहेक अन्य कलाकार तथा इन्फ्लुयन्सरहरू पनि बेटिङ एपको प्रचारमा छन्। बेटिङ एपको प्रचार गर्दा अन्य विज्ञापनभन्दा आकर्षक रकम पाइने र एक लाइन बोलिदिए पुग्ने भएकाले उनीहरू यसको पछाडि लागेका छन्।

विज्ञापनमार्फत अवैध सट्टेबाजीलाई प्रोत्साहन गरेको आरोपमा चर्चित कलाकारहरू प्रहरी हिरासत समेत पुगिसकेका छन्। मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे, राजु मास्टर भनिने राजु पौडेल, पवन खतिवडा उर्फ म्याकुरी सहित आठ जना कलाकार थिए। उनीहरू करिब एक महिना प्रहरी हिरासतमा बसेका थिए।

त्यतिबेला कलाकारहरूले आफूलाई यो गैरकानुनी हो भन्नेबो जानकारी नभएर प्रचार र विज्ञापन गरेको बताएका थिए।

०००

के छ कानुनी व्यवस्था?
नेपालमा जुवा तथा सट्टेबाजी खेल्नु मात्र नभई यसको प्रचार–प्रसार वा प्रवर्द्धन गर्नु पनि कानुनी रूपमा दण्डनीय अपराध मानिन्छ। यससम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा यससम्बन्धी व्यवस्था छ। यो ऐनले जुवा वा सट्टेबाजी खेल्ने र खेलाउने दुवैलाई निषेध गरेको छ।

जसमा कसैले जुवा खेल्न वा सट्टाबाजी गर्न गराउनु हुँदैन भनिएको छ भने यसमा अनलाइन बेटिङ प्लेटफर्महरूलाई पनि समेटिएको छ।

ऐनमै पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना, दोस्रो पटकदेखि १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना तथा जुवा वा सट्टेबाजीमा प्रयोग भएको सबै नगद र धनमाल जफत गरिने व्यवस्था छ।

यसै ऐनमा प्रचारमा संलग्न नहुने समेत व्यवस्था गरिएको छ। जसमा भनिएको छ, ‘कलाकार वा प्रभावशाली व्यक्तिहरूले सामाजिक सञ्जाल वा भिडियो मार्फत यस्ता एपहरूको प्रचार गर्दा जुवा खेल्न प्रोत्साहन गरेको वा मतियार बनेको अभियोगमा अनुसन्धान र कारबाही हुने गर्दछ।’

यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा कस्ता वस्तु वा सेवाको विज्ञापन गर्न पाइँदैन भन्ने स्पष्ट पारेको छ।

यो ऐनको दफा ५ मा प्रचलित कानुनले बिक्री वा प्रयोग गर्न निषेध गरेका वस्तु वा सेवाको विज्ञापन गर्न नपाइने उल्लेख छ। नेपालमा जुवा र सट्टेबाजी अवैध भएकाले यसको विज्ञापन स्वतः गैरकानुनी ठहरिने उल्लेख छ।

यो ऐनले छापा र रेडियो मात्र नभई अनलाइन, डिजिटल माध्यम र सामाजिक सञ्जालमा गरिने विज्ञापनलाई पनि समेटेको छ भने विज्ञापन ऐन बमोजिम दोषी ठहरिएमा ५ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कडा प्रावधान छ।

चैत १७, २०८२ मंगलबार १०:२४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।