विद्यार्थीको छात्रवृत्ति र दिवाखाजाको रकम कुम्ल्याउने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : जुम्लाको तातोपानी गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थीलाई वितरण गर्नुपर्ने छात्रवृत्ति र दिवाखाजाको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराई, प्रधानाध्यापक नरेन्द्र बहादुर महत र लेखा सहायक कृष्ण कामीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७९/०८० मा छात्रवृत्तिका लागि प्राप्त १ लाख ४५ हजार ३५० रुपैयाँ विद्यार्थीलाई वितरण नगरी आपसमा मिलेमतो गरी हिनामिना गरेको आयोगको अनुसन्धानबाट खुलेको छ। उक्त रकम वितरण गरेको देखाउन प्रधानाध्यापक महतले नक्कली भरपाई तयार पारेर गाउँपालिकामा पेश गरेका थिए।
प्रधानाध्यापकले पेश गरेको भरपाईमा ८३ जना छात्रालाई जनही १ हजारका दरले र कक्षा ६ देखि ८ सम्मका ४४ जनालाई १ लाख ४८ हजार ३५० रुपैयाँ १२ पैसा वितरण गरेको उल्लेख थियो। तर, आयोगले स्थलगत अनुसन्धानको क्रममा विद्यार्थीसँग सोधपुछ गर्दा उनीहरूले उक्त रकम प्राप्त नगरेको पुष्टि भयो।
अख्तियारका अनुसार आरोपीहरूले पुरानो मितिको भरपाईमा केरमेट गरी मिति सच्याएर नयाँ भरपाई बनाएका थिए। २०८० असोज २१ को भरपाईलाई पुन किर्ते गरी २०८० चैत २१ गते वितरण गरेको भनी झुटा कागजात तयार गरिएको अनुसन्धानले देखाएको छ। सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुऱ्याउने र आफूहरूले गैरकानूनी लाभ लिने बदनियतले उक्त कार्य गरिएको आयोगको ठहर छ।
आयोगले तीनै जना प्रतिवादीहरूउपर जनही १ लाख ४५ हजार ३५० रुपैयाँ बिगो कायम गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम बिगो असुल उपर गरी कैद र जरिवानाको सजाय माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
चैत १६, २०८२ सोमबार २२:१६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।