बिमित बिरामीलाई सास्ती र भेदभाव नगर्न बीमा बोर्डको निर्देशन
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध सेवाग्राहीलाई सेवा प्रवाहमा विभेद गर्ने र सास्ती दिने स्वास्थ्य संस्थाहरूलाई ऐन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
बोर्डले बुधबार एक विज्ञप्ति जारी गरेर प्रचलित ऐन, नियमावली र कार्यविधिको पूर्ण पालना गर्न निर्देशन दिएको हो। बोर्डले बिमितहरूले स्वास्थ्य सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बिरामीप्रति भेदभावपूर्ण व्यवहार हुने र आवश्यक औषधि एवं सेवा सुविधाहरू उपलब्ध नगराएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलद्वारा जारी निर्देशनमा भनिएको छ, “स्वास्थ्य संस्थाहरूबाट बिमित सेवाग्राहीहरूलाई स्वास्थ्य बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बिमितहरूप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएको भन्ने सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्यहरू स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुन विपरीत रहेका छन्।”
बोर्डले अनुगमनका क्रममा सेवा प्रदायक संस्थाले नियम विपरीत कार्य गरेको प्रमाणित भएमा 'स्वास्थ्य बीमा ऐन २०७४' को दफा १२ को उपदफा (१) को खण्ड (ख) बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ। उक्त कानुनी प्रावधान अनुसार नियम उल्लंघन गर्ने अस्पताल वा स्वास्थ्य संस्थासँग गरिएको बीमा सम्झौता रद्द हुन सक्छ।
पछिल्लो समय स्वास्थ्य बीमा गरेका नागरिकले अस्पतालहरूबाट सहज उपचार र औषधि नपाएको गुनासो बढेपछि बोर्डले यस्तो निर्देशन जारी गरेको हो। बोर्डले उक्त परिपत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत दिएको छ।
चैत १६, २०८२ सोमबार २१:४१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।