भदौ २४ मा सशस्त्रका प्रमुख र सुदनबीच ६ पटक मोबाइलमा कुराकानी, नख्खुका जेलरको रास्वपासँग सम्पर्क
काठमाडौं : भदौ २३ र २४ को जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले १० जनाको मोबाइल कल लगको अध्ययन गर्दा काठमाडौंका तत्कालीन एसएसपी विश्वराज अधिकारी र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको सुदन गुरुङसँग नियमित सम्पर्क हुने गरेको खुलेको छ।
उकेराले पाएको आयोगको प्रतिवेदनमा उनीहरुबीच कहिले र कति पटक फोन सम्पर्क भयो भन्ने उल्लेख भए पनि सम्पर्क गर्नुको प्रयोजन भने खुलाइएको छैन। भदौ २३ को आन्दोलनमा सुदनको भूमिका सहयोगी देखिए पनि पछि उनले विरोध प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको खुलेको थियो।
प्रारम्भमा सहयोगी देखिएका सुदनको पछि फ्रि तिब्बेत अभियान लगायतसँग जोडिएको थियो। उनको भदौ २४ का गतिविधिहरू समेत निकै शंकास्पद देखिन्छन्। उनी फागुन २१ को निर्वाचनमा गोर्खाबाट रास्वपाको टिकटमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका तत्कालीन प्रमुख अधिकारीसँगको उनको सम्पर्कसँगै अर्ध सैनिक बल सशस्त्र प्रहरी बलको प्रमुख अर्यालसँगको नियमित सम्पर्क भने शंकास्पद देखिन्छ। एसएसपी अधिकारीसँग सुदनको दुई पटक मोबाइलमा कुराकानी भएको देखिन्छ। तर आइजिपी अर्यालसँग भदौ २४ मा ६ पटक सम्पर्क भएको देखिन्छ।
प्रधानसेनापति र प्रधानमन्त्रीको कल हेरिएन
प्रतिवेदनमा एसएसपी विश्व अधिकारी, डिआइजी ओम राना, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा, गृह सचिव गोकर्णमणि दवाडी, गृहमन्त्री रमेश लेखक, काठमाडौंका सिडिओ छवि रिजाल, प्रधानमन्त्री केपी ओलीका पिए राजेश बज्राचार्य, लेखकका पिए जनक भट्ट र नख्खुका जेलर सत्यराज जोशीको कल विवरणको विश्लेषण गरिएको छ।
कल विवरणमा यी कसैको पनि प्रधानमन्त्री केपी ओलीसँग सम्पर्क भएको देखिन्न। उनको पिए राजेश बज्राचार्यसँग भने सबैको पटक पटक सम्पर्क भएको देखिन्छ। अर्का प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग पनि सम्पर्क भएको देखिन्छ।
नख्खुका जेलरले भदौ २३ मा रास्वपाका एक व्यक्तिसँग मोबाइलमा सम्पर्क गरेको प्रतिवेदनमा उल्लेख छ। तर सो सम्पर्कको प्रयोजन भने खुलाइएको छैन।
मुख्य सचिव एक नारायण अर्याल, प्रधान सेनापति सिग्देलसँगै सभामुख देवराज घिमिरेसँग समेत सुरक्षा अधिकारीहरूको सम्पर्क भएको देखिन्छ।
रविका सहयोगीसँग जेलरको सम्पर्क
नख्खु कारागारका तत्कालीन जेलर सत्य राज जोशीले आफ्नो मोबाइलबाट सह-सचिव आनन्द काफ्लेलाई भदौ २४ गते ६ पटक सम्पर्क गरेको देखिन्छ। उनले ललितपुर प्रमुख जिल्ला अधिकारीसँग पनि भदौ २३ गते १ पटक सम्पर्क गरेको देखिन्छ।
शंकास्पद सम्पर्क हो अविनाश आचार्य। आचार्यलाई प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी भनेर लेखिए पनि उनको पदीय अवस्था खुलाइएको छैन। रास्वपास्रोतका अनुसार उनी पार्टी सभापति रवि लामिछानेका सहयोगी हुन्। प्रतिवेदनमा उल्लेख भए अनुसार आचार्यसँग जेलरको भदौ २३ र २४ गते २ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ ।
राजेश बज्राचार्य (प्रधानमन्त्री ओलीको पिए) को मोबाइल नम्बरमा गृह मन्त्री रमेश लेखकले भदौ २३ गते २ पटक सम्पर्क गरेको देखिन्छ। विष्णु रिमालले भदौ २३ गते १ पटक सम्पर्क गरेको देखिन्छ भने सभामुख देवराज घिमिरेले १ पटक सम्पर्क गरेको देखिन्छ।
गृह सचिव गोकर्णमणि दवाडीसँग भदौ २४ गते १ पटक सम्पर्क गरेको देखिन्छ। प्रहरी प्रमुख चन्द्र कुवेर खापुङले भदौ २४ गते १ पटक सम्पर्क गरेको देखिन्छ भने तत्कालीन एसएसपी विश्व अधिकारीसँग भदौ २३ गते १ पटक सम्पर्क भएको देखिन्छ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजालले भदौ २३ मा पूर्व गृहमन्त्री रमेश लेखकले भदौ १ पटक सम्पर्क गरेको देखिन्छ, उनको एसएसपी अधिकारी, सह-सचिव आनन्द काफ्लेसँग भदौ २३ र २४ गते १० पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ।
गृह सचिव गोकर्ण मणि दवाडी र नेपाल प्रहरीका एआइजी सिद्धि विक्रम शाहसँग भदौ २३ गते २ पटक सम्पर्क गरेको देखिन्छ। लेखकको पिए जनक भट्टसँग पनि उनको फोन सम्पर्क भएको थियो।
प्रतिवेदन अनुसार मुख्य सचिव एक नारायण अर्यालसँग भदौ २३ र २४ गते ७ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ। तत्कालीन एआइजी दान बहादुर कार्कीले भदौ २३ गते १ पटक सम्पर्क गरेको देखिन्छ भने विष्णु रिमालले भदौ २४ गते १ पटक सम्पर्क गरेको देखिन्छ।
उनले गृह सचिव गोकर्णमणि दवाडीसँग भदौ २३ र २४ गते ९ पटक सम्पर्क गरेको देखिन्छ। तत्कालीन उपत्यका प्रहरी प्रमुख ओम राना र सशस्त्र प्रमुख राजु अर्यालसँग पनि भदौ २३ मा उनको सम्पर्क देखिन्छ।
प्रधानमन्त्री र गृहमन्त्रीको सम्पर्क देखिएन
पूर्व गृह मन्त्री रमेश लेखकको मोबाइल कल डिटेलको आधारमा सशस्त्र प्रहरीका प्रमुख अर्यालसँग भदौ २३ र २४ गते ११ पटक सम्पर्क गरेको देखिन्छ। गृह सचिव गोकर्णमणि दवाडीले भदौ २३ गते ३ पटक सम्पर्क गरेको देखिन्छ। चन्द्र कुवेर खापुङले भदौ २३ गते ८ पटक सम्पर्क गरेको देखिन्छ भने विष्णु रिमाललाई भदौ २४ गते १ पटक सम्पर्क गरेको देखिन्छ।
यसैगरि, काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भदौ २३ गते २ पटक फोन सम्पर्क गरेको देखिन्छ। ओलीका पिए राजेश बज्राचार्यको दुवै मोबाइल नम्बरमा भदौ २३ र २४ गते ३ पटक फोन सम्पर्क गरेको देखिन्छ।
नेपाली सेनाको प्रमुख सिग्देललाई भदौ २३ र २४ गते ३ पटक सम्पर्क गरेको देखिन्छ। ओलीका अर्का पिए दीपेन्द्र दाहालसँग भदौ २३ गते २ पटक सम्पर्क गरेको देखिन्छ भने उनले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग भदौ २४ गते १ पटक सम्पर्क गरेको देखिन्छ।
गृह सचिव गोकर्णमणि दवाडीले बज्राचार्य, लेखक, विष्णु रिमाल, नेपाली सेनाका प्रमुख अशोक सिग्देल र मुख्य सचिव एक नारायण अर्यालसँग सम्पर्क गरेको देखिन्छ। उनले काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजालको दुवै मोबाइल नम्बरमा भदौ २३ गते २ पटक सम्पर्क गरेको देखिन्छ।
प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले भदौ २३ र २४ गते गृहमन्त्री लेखकका पिए जनक भट्टसँग ४ पटक सम्पर्क गरेको देखिन्छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग १ पटक, नेपाली सेनाका मेजर गणेश खड्कासँग २३ र २४ गते २३ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ।
उनको दोस्रो मोबाइल नम्बरमा २४ गते सुदन गुरुङले २ पटक फोन सम्पर्क गरेको देखिन्छ। डिआइजी ओम राना सँग २३ र २४ गते ५३ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ।
तत्कालीन एआइजी दान बहादुर कार्कीसँग भदौ २३ र २४ गते १४ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ। डिएसपी सुन्दर तिवारीसँग भदौ २४ गते ४ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ भने तत्कालीन प्रहरी प्रमुख चन्द्र कुवेर खापुङसँग भदौ २३ र २४ गते ४२ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ।
काठमाडौँ प्रमुख जिल्ला अधिकारी छवि रिजाल, ओलीका पिए बज्राचार्य, एआइजी सिद्धि विक्रम शाहसँग समेत उनको नियमित सम्पर्क देखिन्छ।
आइजिपी खापुङले एआइजी दान बहादुर कार्की, मुख्य सचिव एक नारायण अर्याल, विश्व अधिकारी, गृह मन्त्री रमेश लेखकका पिए जनक भट्ट र सभामुख देवराज घिमिरेसँग सम्पर्क भएको देखिन्छ।
एआइजी सिद्धि विक्रम शाहसँग भदौ २३ र २४ गते २८ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ। डिआइजी ओम रानासँग भदौ २३ र २४ गते ११ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ।
पूर्व गृह मन्त्री रमेश लेखकको दुवै मोबाइल नम्बरमा भदौ २३ र २४ गते ८ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ भने सशस्त्रका प्रमुख अर्यालसँग भदौ २३ र २४ गते २ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको देखिन्छ।
कार्की आयोग प्रतिवेदन
जेनजी आन्दोलनबारे उकेरामा प्रकाशित मुख्य सामग्रीहरू:
चैत ११, २०८२ बुधबार २२:३९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।