इरानबारे चार दिनमा चार फरक बयान : के आफ्नै 'डेडलाइन'मा फस्दै छन् ट्रम्प ?

इरानबारे चार दिनमा चार फरक बयान : के आफ्नै 'डेडलाइन'मा फस्दै छन् ट्रम्प ?

एजेन्सी : इरानसँग जारी युद्धका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरु विरोधाभास देखिएका छन्। उनले कहिले कूटनीतिक माध्यमबाट समस्या समाधान हुने त कहिले कडा सैन्य कारबाही गर्ने मिश्रित अभिव्यक्ति दिँदै छन्।

गत शुक्रबार ट्रम्पले इरानसँगको युद्ध 'अन्त्यतिर' रहेको बताए। तर, शनिबार राती उनले एकाएक इरानलाई '४८ घण्टाको समयसीमा' दिँदै 'होर्मुज स्ट्रेट' नखोल्न इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिए। 

जवाफमा इरानले पनि अमेरिकी सहयोगीका ग्यास क्षेत्र र पानी प्रशोधन केन्द्र (डिसालिनेशन प्लान्ट) मा हमला गर्ने चेतावनी दियो। यद्यपि, यस्तो चेतावनी दिएको भोलिपल्ट आइतबार ट्रम्पले फ्लोरिडास्थित मार-ए-लागो रिसोर्टमा गल्फ खेलेर समय बिताए।

सोमबार बिहान विश्व सेयर बजार गिरावटसँग सङ्घर्ष गरिरहेका बेला ट्रम्पले इरानसँग 'रचनात्मक' कुराकानी भइरहेको दाबी गरे। टेनेसी प्रस्थान गर्नुअघि उनले एक शीर्ष इरानी नेतासँगको सम्पर्कपछि प्रस्तावित आक्रमणलाई पाँच दिनका लागि टालिएको जानकारी दिए। 

ट्रम्पले अमेरिका र इरानबीच 'धेरै महत्त्वपूर्ण बुँदामा सहमति' भएको र दुवै पक्ष सम्झौताको पक्षमा रहेको बताए। तर, इरानले भने अमेरिकासँग कुनै पनि किसिमको वार्ता वा सम्पर्क नभएको आधिकारिक रूपमै स्पष्ट पार्यो।

ट्रम्पको वार्तासम्बन्धी दाबीपछि अमेरिकी सेयर बजारमा सुधार देखियो भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा केही गिरावट आयो। ट्रम्पले "१५ बुँदे सहमति" भएको बताए पनि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्।

यसैबीच, इरानी ठेगानाहरूमा अमेरिका र इजरायलका हवाई आक्रमणहरू र इरानका तर्फबाट हुने मिसाइल तथा ड्रोन प्रहारहरू रोकिएका छैनन्। होर्मुज स्ट्रेटमा जहाजहरूको आवागमन अझै पनि अत्यन्तै सीमित छ।

सोमबार नै ट्रम्पले टेनेसीको मेम्फिसमा नेशनल गार्डका जवानहरूलाई सम्बोधन गर्दै इरानलाई धम्कीको बाटो छाड्ने यो अर्को अवसर भएको बताए। त्यसपछि उनले प्रसिद्ध सङ्गीतकर्मी एल्भिस प्रेस्लीको ऐतिहासिक घर 'ग्रेसल्याण्ड'को भ्रमण गरे।

भ्रमणका क्रममा उनले आफू एल्भिसको प्रशंसक भएको र 'हर्ट' आफ्नो मनपर्ने गीत भएको बताए। कूटनीतिक विश्लेषकहरू भने वर्तमान परिस्थितिको गम्भीरतालाई हेर्दा अहिलेको अवस्था एल्भिसको अर्को चर्चित गीत 'इट्स नाउ अर नेभर' जस्तै निर्णायक रहेको टिप्पणी गर्छन्।

ट्रम्प वासिङ्टन फर्किएसँगै उनले दिएको पाँच दिने नयाँ समयसीमा सुरु भएको छ। यो समयसीमाले इरानसँगको युद्धलाई कता लैजान्छ भन्नेमा विश्वको ध्यान केन्द्रित छ।

चैत १०, २०८२ मंगलबार २१:३९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।