सुरक्षा ग्यारेन्टी पाएपछि बंगलादेशी खेलाडीलाई पीएसएल खेल्न अनुमति
एजेन्सी : बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आफ्ना खेलाडीहरूलाई पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न औपचारिक रूपमा अनुमति दिएको छ।
सरकारी निकायहरूसँगको छलफल र इस्लामावादबाट सुरक्षाको पूर्ण आश्वासन पाएपछि बोर्डले यो निर्णय गरेको हो।
सोमबार एक विज्ञप्ति जारी गर्दै बीसीबीले यस विषयमा युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
इस्लामावादमा रहेको बंगलादेशी दूतावासले दिएको जानकारीअनुसार, विभिन्न फ्रेन्चाइजी टोलीबाट खेल्ने खेलाडीहरूका लागि त्यहाँ कुनै पनि सुरक्षा चुनौती वा खतरा नरहेको बोर्डले स्पष्ट पारेको छ।
‘सुरक्षाको पूर्ण ग्यारेन्टी पाएपछि खेलाडीहरू प्रतियोगिताका लागि पाकिस्तान प्रस्थान गरिसकेका छन्’, विज्ञप्तिमा भनिएको छ।
साथै, बोर्डले खेलाडीहरूको सुरक्षा र स्वास्थ्यलाई सधैँ पहिलो प्राथमिकतामा राख्ने र सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहने पनि जनाएको छ।
इद-उल-फित्रको बिदा सकिएलगत्तै धेरैजसो बंगलादेशी खेलाडीहरू पीएसएलको ११औँ संस्करण खेल्न पाकिस्तान प्रस्थान गरिसकेपछि बोर्डको यो आधिकारिक भनाइ बाहिर आएको हो।
चैत १०, २०८२ मंगलबार १३:२६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।