विश्वमा एक करोड सात लाख क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

विश्वमा एक करोड सात लाख क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर : नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ।  विश्व क्षयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो।

राष्ट्रिय क्षयरोग केन्द्र्रका निर्देशक डा. भुवन पौडेलले अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने बरू उनीहरूबाट रोग सर्ने प्रवृत्ति देखिएको, प्रविधिको प्रयोग गर्न नसक्दा परीक्षणमा पनि समस्या भएको बताए।

आर्थिक वर्ष २०८१/८२ मा औषधि–संवेदनशील क्षयरोगका ३९ हजार १५१ जना नयाँ बिरामी पहिचान भएका जानकरी दिदै उनले त्यसमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका बताए। 

क्षयरोग नियन्त्रणका लागि सरकारले ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा सञ्चालन गरेको जानकारी दिदै उनले ७८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालन भइरहेको बताए। 

औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालन रहेको तथा १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको, नौ वटा एआई जडित डिजिटल एक्स–रे सञ्चालन गरि क्षययोगका परीक्षण गरिरहेको जानकारी दिए। 

सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य राखिएको छ।

विश्वमा प्रत्येक वर्ष एक करोड सात लाखमा सक्रिय क्षयरोग रहेको जानकारी दिदै उनले जसमा १२ लाख ३० हजारको क्षयरोगकै कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा रहेको छ।

चैत १०, २०८२ मंगलबार १३:१६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।