अमेरिकालाई इरानीको झट्का : ‘तहसनहस’ भनिएको सैन्य क्षमता अझै घातक, आफ्नै धम्कीबाट पछि हटे ट्रम्प
एजेन्सी : विगत केही सातादेखि अमेरिका र इजरायलले इरानको सैन्य क्षमता निकै कमजोर भएको दाबी गर्दै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रक्षामन्त्री पीट हेगसेथले बारम्बार भनेका छन्- ‘लगातारको आक्रमणले इरानको कमान्ड संरचना तहसनहस भएको छ र प्रत्याक्रमण गर्ने क्षमता गुमेको छ।’
उनीहरूको बुझाइमा अब यो द्वन्द्व अन्त्यतिर पुग्नुपर्ने थियो। तर, यथार्थ भने फरक देखिएको छ। तनाव घट्नुको साटो झन् बढ्दै गएको छ र द्वन्द्व समाधानका बाटाहरू साँघुरिँदै छन्।
इरानको क्षेप्यास्त्र क्षमताले अमेरिकालाई झट्का
शनिबार इरानले हिन्द महासागरमा रहेको अमेरिका र बेलायतको संयुक्त सैन्य अखडा डिएगो गार्सियातर्फ दुईवटा क्षेप्यास्त्र प्रहार गरेको खबर बाहिरिएको थियो।
करिब ३८ सय किलोमिटर टाढा रहेको सो टापुसम्म क्षेप्यास्त्र नपुगे पनि यस घटनाले इरानको सैन्य क्षमतालाई लिएर नयाँ चिन्ता थपेको छ। यसअघि इरानका क्षेप्यास्त्रको मारक क्षमता करिब २ हजार किलोमिटर मात्र रहेको मानिन्थ्यो।

यो इरानले लुकाएर राखेको क्षमता होस् वा आक्रमणकै बीच विकास गरेको- नतिजा एउटै छ: सैन्य दबाबले इरानको प्रगतिलाई रोक्न सकेको छैन।
नेतृत्वविहीन तर आक्रामक इरान?
अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ नेताहरू, इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का कमान्डर र सशस्त्र बलका प्रमुखहरूलाई सिध्याएको दाबी गरेका छन्।
साथै, मुख्य मिसाइल निर्माण केन्द्रहरू नष्ट गरिएको पनि भनिएको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ- यत्रो दबाबका बाबजुद इरानको तर्फबाट यो अभियान कसले चलाइरहेको छ? र, इरानले आफ्नो सैन्य क्षमता कसरी कायम राखेको छ?
इरानका नयाँ सर्वोच्च नेताका रूपमा प्रस्तावित मोजतबा खामेनी पनि मौन छन्। उनी आफ्ना बुबा (अली खामेनी) र परिवारका सदस्यहरू मारिएको आक्रमणबाट बचेको बताइए पनि सार्वजनिक रूपमा देखा परेका छैनन्।

दुईवटा लिखित सन्देशबाहेक उनको अवस्था र नेतृत्व गर्ने क्षमता अज्ञात छ। यस्तो केन्द्रीकृत सत्तामा नेतृत्वको यो मौनताले अनिश्चितता बढाएको छ।
यसका बाबजुद इरानका गतिविधिहरूमा कुनै सुस्तता देखिएको छैन। शनिबार इरानले इजरायलको अघोषित आणविक कार्यक्रमसँग जोडिएको भनिएको नेगेभ मरुभूमिस्थित डिमोना सहरमा हमला गर्यो।
यो हमला इरानको बुसहरस्थित ऊर्जा केन्द्रमा इजरायलले गरेको आक्रमणको जवाफ थियो। इरानले स्पष्ट सन्देश दिएको छ- महत्त्वपूर्ण क्षेत्रहरू अब सुरक्षित छैनन्।
वार्ता कोसँग गर्ने?
नेतृत्व तहलाई हटाएपछि पूरै संरचना ढल्ने अमेरिका र इजरायलको अपेक्षाविपरीत इरानको संयन्त्र अझै बलियो देखिन्छ। यस्तोमा अमेरिकासामु प्रश्न खडा भएको छ- अब वार्ता कोसँग गर्ने? इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि मौन छन्।
त्यस्तै, इरानलाई पनि अमेरिकामाथि भरोसा छैन। ट्रम्प सत्तामा आएपछि दुई चरणको वार्ता सकारात्मक दिशातर्फ अघि बढे पनि अमेरिकाले अचानक आक्रमण सुरु गरेको इरानको गुनासो छ।
इरानी अधिकारीहरूका अनुसार वार्ताले आक्रमण रोक्ने नभई उल्टै निम्त्याउने रहेछ भन्ने सन्देश इरानले बुझेको छ।
ट्रम्पको अल्टीमेटम र पछाडि हट्ने कदम
तनाव बढाउन इरान मात्र जिम्मेवार छैन। शनिबार राति ट्रम्पले विश्वकै व्यस्त तेल मार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्न इरानलाई ४८ घण्टाको अल्टीमेटम दिँदै त्यसो नगरे इरानका ऊर्जा संयन्त्र ‘पूर्ण रूपमा ध्वस्त’ पार्ने चेतावनी दिए।
इरानले पनि त्यसलाई अस्वीकार गर्दै आफ्नो ऊर्जा संरचनामा हमला भए पूरै क्षेत्रभर प्रत्याक्रमण गर्ने धम्की दियो। इरानले फारसको खाडीमा समुद्री बारुदी सुरुङ बिछ्याउने चेतावनी समेत दिएको थियो।

तर, अल्टीमेटम सकिनु केही घण्टाअघि मात्र ट्रम्प आफ्नो अडानबाट पछि हटे। उनले सामाजिक सञ्जालमा इरानसँग ‘धेरै राम्रो र सकारात्मक कुराकानी’ भएको बताउँदै इरानका ऊर्जा संरचनामा गर्ने भनिएको आक्रमण ५ दिनका लागि रोक्ने घोषणा गरे। यसले तत्कालका लागि तनाव केही मत्थर बनाए पनि यो कतिन्जेल टिक्छ भन्ने यकिन छैन।
घट्दै विकल्प
अहिले दुवै पक्षका विकल्प साँघुरिँदै गएका छन्। बिना सेना मैदानमा उत्रिएर अमेरिका र इजरायलले हवाई आक्रमण मात्र गर्न सक्छन्, जसले इरानलाई पूर्ण रूपमा झुकाउन सकेको छैन। अर्कोतर्फ, इरान पनि कमजोर देखिएर पछाडि हट्न सक्ने अवस्थामा छैन।
यस्तोमा, यदि ‘स्ट्रेट अफ हर्मुज’ बन्द रहने र दुवै पक्ष आफ्ना धम्कीमा अडिग रहने हो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वभर गम्भीर आर्थिक र मानवीय संकट निम्त्याउने निश्चित छ।
चैत १०, २०८२ मंगलबार १२:३०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।