अन्तिम समयमा पीएसएल छाडेर आईपीएल जाने खेलाडीलाई पीसीबीले कारबाही गर्ने

अन्तिम समयमा पीएसएल छाडेर आईपीएल जाने खेलाडीलाई पीसीबीले कारबाही गर्ने

एजेन्सी : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नक्भीले अन्तिम समयमा पाकिस्तान सुपर लिग (पीएसएल) छाडेर इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न जाने खेलाडीहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। लगातार दोस्रो वर्ष पनि पीएसएल र आईपीएलको समय एकैपटक जुधेको छ।

श्रीलंकाका दासुन शनाका अन्तिम समयमा पीएसएल छाड्ने दोस्रो खेलाडी बनेका छन्। उनी लाहोर कलन्दर्सलाई छाडेर घाइते साम करनको स्थानमा राजस्थान रोयल्सबाट आईपीएल खेल्न गएका हुन्।

शनाकाको स्थानमा अब अस्ट्रेलियाका ड्यानियल साम्सले लाहोर कलन्दर्सबाट खेल्नेछन्। यसअघि ब्लेसिङ मुजाराबानी पनि कोलकाता नाइट राइडर्स (केकेआर) सँग आबद्ध हुँदै पीएसएलबाट बाहिरिएका थिए।

अध्यक्ष नक्भीले आइतबार भने, ‘हामी ती खेलाडीहरूलाई नियमअनुसार कारबाही गर्नेछौँ। गत वर्ष पनि यस्तै घटना भएको थियो र यसपटक पनि त्यही कारबाही दोहोरिनेछ।’

गत वर्ष पेशावर जाल्मीमा अनुबन्धित कोर्बिन बोस्च अन्तिम समयमा मुम्बई इन्डियन्समा गएपछि उनलाई पीएसएल खेल्न एक वर्षको प्रतिबन्ध लगाइएको थियो।​​​​​​​ आईपीएलसँग समय जुध्नुलाई आफूहरूले ठूलो समस्या नमानेको नक्भीले बताएका छन्।

उनले भने, ‘केही खेलाडी त्यहाँ (आईपीएलमा) गए पनि हामीकहाँ उत्कृष्ट खेलाडीहरू आइरहेका छन्। वर्षभरि अर्को कुनै खाली समय (विन्डो) नभएकाले हामीले पीएसएललाई सार्न सकेनौँ।’

यसबाहेक गुडाकेश मोती, जेक फ्रेजर-म्याकगर्क, ओटनिल बार्टम्यान र स्पेन्सर जोन्सन जस्ता खेलाडीले पनि व्यक्तिगत कारण देखाउँदै यसपटकको पीएसएलबाट नाम फिर्ता लिएका छन्।

पीएसएल आगामी मार्च २६ देखि सुरु हुँदैछ। यसको दुई दिनपछि छिमेकी देश भारतमा आईपीएल सुरु हुनेछ। 

यसैबीच, पश्चिम एसियामा भइरहेको द्वन्द्वका कारण सिर्जना भएको इन्धन संकटलाई मध्यनजर गर्दै यस वर्षको पीएसएल बन्द रंगशालामा खेलाइने अध्यक्ष नक्भीले जानकारी दिएका छन्।

त्यस्तै, पहिले तय भएका ६ वटा खेल मैदानलाई कटौती गरेर अब लाहोर र कराँची गरी दुईवटा सहरमा मात्रै सम्पूर्ण खेलहरू खेलाइनेछ।

चैत १०, २०८२ मंगलबार १०:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।