कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु, दर्जनौँ घाइते
एजेन्सी : कोलम्बियाको दक्षिणी क्षेत्रमा वायु सेनाको एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। अधिकारीहरूका अनुसार उडान भरेको केही बेरमै विमान दुर्घटनामा परेको हो।
वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले दिएको जानकारी अनुसार उक्त विमानमा ११४ जना सैनिक र ११ जना चालक दलका सदस्य गरी जम्मा १२५ जना सवार थिए।
दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित लकहिड मार्टिनको ‘सी-१३० हरक्युलिस’ थियो। यसलाई विशेषगरी सैनिकहरूको ओसारपसारमा प्रयोग गरिन्थ्यो।
रोयटर्स समाचार एजेन्सीका अनुसार सोमबार देशको दक्षिणी अमेजन क्षेत्र अन्तर्गत पेरुको सीमा नजिकै रहेको पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहरबाट उडान भर्ने बित्तिकै विमान खसेको थियो।
दुर्घटनास्थलमा आपतकालीन उद्धारकर्मीहरू खटिएका छन् र भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी भइरहेको छ। स्थानीय सञ्चारमाध्यमका दृश्यहरूमा स्थानीय बासिन्दाहरूले घाइते सैनिकहरूलाई साना मोटरसाइकलमा राखेर अस्पताल पुर्याइरहेको देखिएको छ।
कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले सुरक्षा बललाई बोकेको विमान दुर्घटना हुनु देशका लागि अत्यन्तै दुःखद भएको बताएका छन्। उनले विमानमा आगो लागेपछि त्यहाँ राखिएको गोलाबारुद पड्किएको जानकारी दिए। एक सैन्य स्रोतले एएफपी समाचार एजेन्सीलाई ६६ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
यस घटनालाई कोलम्बियाली वायु सेनाको इतिहासकै सबैभन्दा ठूलो र घातक दुर्घटनामध्ये एक मानिएको छ।
कोलम्बियाली सेनाले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत घाइतेहरूको उद्धारका लागि घटनास्थलमा सैन्य टोली पुगिसकेको र उनीहरूलाई विशेष उपचारका लागि पठाइँदै गरेको जानकारी दिएको छ।
चैत १०, २०८२ मंगलबार ०९:४८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।