फेक रेस्युमा राजेन्द्रबहादुरको घुस खुवाउनेदेखि फ्लाइटको डेटा नै नदिने संवादलाई सरकारी वकिलले प्रमाणै मानेन (अडियोसहित)

फेक रेस्युमा राजेन्द्रबहादुरको घुस खुवाउनेदेखि फ्लाइटको डेटा नै नदिने संवादलाई सरकारी वकिलले प्रमाणै मानेन (अडियोसहित)

काठमाडौं : नेपालमा पदमार्गमा आएका विदेशी पदयात्रीलाई बिरामी बनाएर उद्धार गर्दै रेस्क्यु र उपचारको बहानामा बीमा रकममा ठगी हुने गरेको प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर ३३ जनालाई प्रतिवादी बनाउन सिफारिस गर्यो।

तर आइतबार जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गर्दा फेक रेस्क्यु घटनाको प्रमाण नष्ट गरेर अनि मिडिया परिचालन गरेर अनुसन्धानै प्रभावित पार्न सक्रिय रहेको आरोपमा पक्राउ परेका राजेन्द्र बहादुर सिंह प्रतिवादी बनेनन्।

अभियोग पत्रमै समावेश विवरणमा फेक रेस्क्युमा जोडिएका अन्य फरार प्रतिवादीहरूसँग मिलेर उनले मागेको डेटा नदिने अनि प्रहरीको अनुसन्धान प्रभावित पार्न मिडियामा आफू अनुकूल समाचार लेखाउन सिंह सक्रिय रहेको अडियो प्रमाणको रूपमा पेस भएको थियो।

उकेराले सोमबार प्राप्त गरेको करिब ८ मिनेटको सो अडियोमा उनले फेक रेस्क्युमा अहिले फरार रहेका अभियुक्त श्यामसुन्दर कँडेलसँग प्रस्ट रूपमा उजुरी दिने संस्था को हो त्यो खोज्न अनि मागेका डेटाहरू नदिन अन्य हेलिकप्टर कम्पनीलाई समेत दबाब दिनुपर्ने प्रस्ट उल्लेख देखिन्छ।

कँडेललाई उनले प्रारम्भमा सिआइबीमा उजुरी दिने इओआइएएन भन्ने कुन संस्था हो त्यो खोज्न भन्दै भनेका छन् “अब इन्डस्ट्रीमा कसरी मिलाउने?, यो डाइनेस्टीहरु कसैलाई पनि डाटा चाहिँ दिनुहुँदैन भन्नुपर्छ के श्यामजी। किनभने सीआइबीले हेलिकप्टर कम्पनीसँग मागेको होइन। उसले क्यानसँग डाटा भिडाउन खोजेको हो हैन। हाम्रो कम्पनीमा त रेस्क्यु भनेर त डाटा छैन।”

त्यसपछि कँडेलले भनेका छन् “को-कोले कसरी बुझाउन लागेको रहेछ म चेक गर्छु है त। मैले डाइनेस्टी र माउन्टेनमा चाहिँ त्यहाँ हाम्रो के-के छ फेरी सबै भद्रगोल तालले बुझाइदेला, हामीले रेस्क्यु भनेर जे-जे  बुझाएको हो त्यो भन्दा बाहिर फेरी कन्फ्युजन हुन्छ, नबुझाउनु भनेर भनेको थिएँ।”

उनले मोबाइल कुराकानीमा प्रस्ट रूपमा क्यानलाई डेटा बुझाउन नहुने भन्दै त्यसका लागि क्यानको डिजीलाई फोन गरेर अब आइतबारतिर चिठी लेख्ने बताउँछन्। उनले क्यानलाई पत्र लेख्दा रेस्क्यु फ्लाइटको विवरण नदिन रेस्क्यु भनेर डेटा राख्ने चलन नभएको र फ्लाइट डेटा मात्र हुने हुनाले त्यसको दिन नसकिने भनेर लेख्ने बताएका छन्। उनले सबै हेलिकप्टर कम्पनीले त्यही अनुसार लेख्नुपर्ने सुझाव समेत दिन्छन्।

उनले यो समस्या समाधान गर्न अन्य व्यक्तिहरूलाई पर्यटन विभागको डिजी भेट्न जान  भनेको र उनी आफ्नो भाइ नै भएको भन्दै अब रेस्क्यु शब्द नै प्रयोग गर्न नहुने बताउँछन्।

उनले कुराकानीमा रेस्क्यु गर्दा लुक्लाको विमानस्थलमा स्वास्थ्यको मान्छे राख्ने र उसैले रेस्क्यु फ्लाइट र हस्पिटल रेफर गरिदिने अनि घुस खुवाएर आफू अनुकूल अस्पताल रेफर गर्न लगाउने योजना सुनाउँदै भनेका छन् “त्यहाँ त नेपाली त हेर्नुस् भ्रष्टाचारी, पर फ्लाइट मलाई पनि पाँच सय चाहिन्छ भन्नेवाला आउँछन् नि त्यहाँ। गर्नुपर्ने भयो भने पनि तिनलाई पैसा खुवाएर रेफरल लिन पाइयो। अब जेन्युन नै हो भने पनि उनीहरूले रेफर गर्छन्। “

अभियोग पत्रमा उल्लेख प्रमाण र मुद्दा नचलाउने निर्णयको विवरण।त्यसमा श्यामले अनुसन्धान गर्ने सिआइबीका अधिकारीले कुरा नै नबुझेको भन्दै भन्छन् “ यसै फेक फेक भनेका छन्। कुरो केही थाहा छैन। अब हवलदारले त हिसाब हेरेर छ भन्छन्। हवलदारले हेरेर कहिले बुझ्नु।”

त्यसपछि सिंहले अब यो पक्षबारे मिडियामा लेखाउने योजना सुनाउँछन्। उनले मिडियामा आर्टिकल लेखाउने भन्दै नागरिकको नाम लिएका छन्।

“यो चाहिँ अब म नै आर्टिकल लेखेर मिडियामा चाहिँ नागरिकमा आर्टिकल निकाल्नु पर्यो, न्युज के। बुझ्नुभयो नि। मलाई यो इन्फरमेन्सनहरु दिनु। आइतबार, सोमबारतिर म नै एउटा न्युज निकाल्न लगाउँछु। त्यो पनि गर्नु पर्यो। अब अब उप्रान्त हामी रेस्क्यु नभन्ने। हाम्रो चार्टर हो। हेलिकप्टरले त भन्दै, भन्दैन। तपाईँहरूले पनि रेस्क्यु नभन्ने।”

आइतबार अदालतमा दायर भएको अभियोग पत्रमा सिंहको बयान समेत उल्लेख छ। बयानमा उनले श्यामसँग भएको कुराकानीलाई उनी आफ्नो हेलिकप्टर कम्पनीलाई काम दिने व्यक्ति भएकाले व्यवसायीक प्रयोजनमा कुराकानी भएको दाबी गरेका छन्।

तर उकेराले प्राप्त गरेको अडियोमा भने व्यवसाय भन्दा पनि सिआइबीले गरिरहेको फेक रेस्क्यु सम्बन्धी अनुसन्धानलाई प्रभावित पार्ने र प्रमाण नष्ट गर्ने विषयमै छलफल केन्द्रित भएको देखिन्छ।

यही प्रमाणको आधारमा सिआइबीले सिंहसहित ३३ जनालाई प्रतिवादी बनाउन अनुसन्धानको प्रस्तावित राय सुझाव दियो। तर अन्तमा प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय गर्यो।

सम्बन्धित समाचार

चैत ९, २०८२ सोमबार २०:१९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।