पशुपतिबाट सुरु भयो फिल्म ‘बा : एक योद्धा’को छायांकन

पशुपतिबाट सुरु भयो फिल्म ‘बा : एक योद्धा’को छायांकन

काठमाडौं : संगीतकार तथा गायक हरि लम्सालको निर्देशनमा तयार हुने फिल्म ‘बा : एक योद्धा’को सोमबारदेखि छायांकन सुरु भएको छ। काठमाडौंको पशुपतिनाथ मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। 

यही फिल्ममार्फत लम्सालले निर्देशनमा डेब्यु गर्दैछन्। फिल्मको कथा र पटकथा पनि उनकै रहेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मले परिवारमा बुवाको जिम्मेवारी, त्याग र संघर्षको कथा समेटेको बताइन्छ।

फिल्मको छायांकन शिवराम श्रेष्ठले गरिरहेका छन्। उनले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘बोक्सीको घर’ जस्ता फिल्महरू खिचेका थिए। फिल्मका निर्माता वसन्त लम्साल हुन् भने मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन्।

निर्माण पक्षले फिल्मका मुख्य कलाकारहरूको नाम भने अहिले गोप्य राखेको छ। छायांकनको सम्पूर्ण काम सकिएपछि मात्र फिल्मको प्रदर्शन मिति तय गरिने निर्माण टोलीले जनाएको छ।

चैत ९, २०८२ सोमबार १७:१४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।