कुवेतमा अलपत्र परेका ३३ नेपालीलाई सडकमार्ग हुँदै साउदीबाट गन्तव्यतर्फ पठाइयो
काठमाडौं : युद्धका कारण कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा अलपत्र परेका ३३ जना नेपालीलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई सडकमार्ग हुँदै साउदी अरेबिया पुर्याइएको र त्यहाँबाट हवाई मार्गमार्फत गन्तव्यतर्फ पठाइएको हो।
२८ फेब्रुअरी देखि हवाई उडान बन्द भएपछि विभिन्न देश जान हिँडेका ३३ जना नेपालीहरू कुवेतमा रोकिएका थिए। अलपत्र यात्रीहरूको समस्यालाई मध्यनजर गर्दै कुवेतस्थित नेपाली दूतावासले रियादस्थित नेपाली दूतावाससँग समन्वय गरी उनीहरूको उद्धार गरेको हो।
हवाई उडान सम्भव नभएपछि यात्रीहरूलाई कुवेतबाट साउदीको रियादसम्म बसमार्फत लगिएको थियो। साउदीको ट्रान्जिट भिसाका लागि अनलाइन आवेदन दिन लगाइ भिसा प्राप्त हुनासाथ दूतावासको सहजिकरणमा उनीहरूलाई साउदी पठाइएको हो।
मध्यपूर्वमा जारी युद्धका कारण हाल हवाई यातायातमा ठूलो अवरोध देखिएको छ।
चैत ८, २०८२ आइतबार १८:०५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।