अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने
काठमाडौं : नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि अब सेवाग्राहीले छुट्टाछुट्टै फारम भर्न नपर्ने भएको छ।
गृह मन्त्रालयले केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता कायम गरेसँगै यो व्यवस्था लागू भएको हो।
आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुर को निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले अब नागरिकहरूले एउटै प्रकृतिका सेवाका लागि विभिन्न निकाय धाउनुपर्ने र छुट्टाछुट्टै फारम भर्नुपर्ने झन्झट अन्त्य भएको बताए।
नयाँ प्रणाली लागू भएसँगै राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीले छुट्टै आवेदन फारम भरी बायोमेट्रिक विवरण दिन तोकिएका इकाइमा जानुपर्ने व्यबाध्यता हटेको छ।
मन्त्रालयका अनुसार हाल १२ वटा सार्वजनिक सेवासँग अन्तरआवद्धता भइसकेको छ। यसबाट दोहोरो काम घटेको, राज्यकोषमा बचत भएको तथा आर्थिक र सामाजिक अपराध नियन्त्रणमा समेत सहयोग पुगेको जनाइएको छ।
हाल दैनिक करिब ६ हजारदेखि ८ हजारसम्म सेवाग्राही यस प्रणालीबाट लाभान्वित भइरहेको मन्त्रालयले जनाएको छ।
चैत ८, २०८२ आइतबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।