बाजुरामा कुटपिटबाट ३५ वर्षीय युवकको मृत्यु, हत्या आरोपी बाबु पक्राउ, छोरा फरार

बाजुरामा कुटपिटबाट ३५ वर्षीय युवकको मृत्यु, हत्या आरोपी बाबु पक्राउ, छोरा फरार

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा दुई पक्षबीचको विवादका क्रममा ढुङ्गा प्रहार हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतराको कुटपिटबाट ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार साँझ ६:०० बजेतिर पुरानो विवादका कारण दुई पक्षबीच झगडा सुरु भएको थियो। सोही क्रममा महतरा बाबु–छोराले बुढाको टाउकोमा ढुङ्गाले प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका बुढाको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि अस्थायी प्रहरी चौकी मुक्तिकोटबाट प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली घटनास्थल खटिएको थियो।

प्रहरीले हत्यामा संलग्न आरोपी बाबु धनबहादुर महतरालाई नियन्त्रणमा लिएको छ भने उनका छोरा हेमराज घटनालगत्तै फरार भएका छन्।

फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ । 

चैत ३, २०८२ मंगलबार ११:२६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।