बस यात्राको चिनजान अनि ई-सेवाको ब्यालेन्स : बिहेको प्रलोभन देखाएर रात्रीबसका सहचालकले यसरी फसाए १९ वर्षीया युवती
काठमाडौं : विवाह गर्ने झुठो प्रलोभन देखाई एक युवतीलाई ताप्लेजुङबाट काठमाडौं ल्याएर होटलमा बलात्कार गरी अलपत्र छाडेर भागेको आरोपमा एक युवकविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले तेह्रथुमको फेदाप गाउँपालिका-२ घर भएर काठमाडौंको नयाँ बसपार्क बस्ने १८ वर्षीय सुजन भट्टराईविरुद्ध बलात्कारको कसुरमा कैद, जरिवाना र क्षतिपूर्तिको मागदाबीसहित चैत २ गते अदालतमा मुद्दा दायर गरेको हो।
जिल्ला न्यायाधिवक्ताद्वारा दायर गरिएको अभियोगपत्रमा प्रतिवादीले विवाहको नाटक र षड्यन्त्र रचेर १९ वर्षीया युवतीलाई बलात्कारपछि बेवारिसे अवस्थामा सडकमा छाडेको विवरण समेटिएको छ।
यसरी सुरू भयो चिनजान
प्रहरी अनुसन्धान र अभियोगपत्रमा उल्लेख भएअनुसार पीडित युवती र अभियुक्त सुजनबीचको चिनजान रात्रिकालीन बसबाट सुरू भएको थियो। सुजन ताप्लेजुङदेखि काठमाडौं चल्ने रात्रिबसका सहचालक हुन्।
माघ महिनाको अन्तिमतिर ती युवती गाउँ जानका लागि उक्त बसमा चढेकी थिइन्। यात्राकै क्रममा युवतीको मोबाइलमा ब्यालेन्स सकिएपछि सहचालक सुजनले आफ्नो ई-सेवाबाट उनको नम्बरमा पैसा ट्रान्सफर गरिदिएका थिए। त्यही पैसा हालिदिएको बहानामा सुजनले युवतीको नम्बर आफ्नो मोबाइलमा सेभ गरे। त्यसपछि उनीहरूको फोनमा कुराकानी हुन थाल्यो।
सुरुमा युवतीले फोनमा बोल्न अस्वीकार गर्दै ‘मलाई मन पर्दैन फोन नगर’ भनेर कल काट्ने गर्थिन्। तर, सुजनले अनेक बहाना बनाउँदै निरन्तर फोन गरिरहे। कुराकानी बाक्लिँदै गएपछि सुजनले ती युवतीलाई प्रेम प्रस्ताव राखे। सुजनले उनलाई ‘काठमाडौं जाऔं, म तिमीसँग विवाह गर्छु’ भन्दै निरन्तर ललाइफकाई गर्न थाले।
काठमाडौंको यात्रा अनि होटलको रात
विवाहको प्रलोभनमा परेर ती युवती सुजनसँगै काठमाडौं आउन तयार भइन्। फागुन ३ गते सुजनले ती युवतीलाई ताप्लेजुङबाट बसमा चढाएर इटहरी ल्याए। इटहरीबाट अर्को गाडी चढेर फागुन ५ गते बिहान १० बजे उनीहरू काठमाडौंको नयाँ बसपार्क आइपुगे।
काठमाडौं झरेलगत्तै सुजनले ती युवतीलाई बसपार्क नजिकै मित्रनगरमा रहेको ‘न्यु होटल रोयल माउण्टेन’मा लगे। होटलको १०४ नम्बर कोठा सुजनले आफ्नै नाममा बुक गरेका थिए। कोठामा पुगेपछि सुजनले युवतीलाई ‘म तिमीसँगै बिहे गर्छु’ भन्ने विश्वास दिलाए।
अभियोगपत्रमा उल्लेख भएअनुसार, विवाहको आश्वासन दिएर उनले युवतीको इच्छा र मञ्जुरीविना सोही दिन दिउँसो तीन पटकसम्म जबरजस्ती करणी गरे। त्यसपछि फागुन ५ गते साँझ ५:३० बजेतिर सुजनले ‘म लुगा धुन जान्छु’ भन्दै कोठाबाट निस्किए।
बिहान सडकमा अलपत्र
लुगा धुने बहानामा निस्किएका सुजन त्यसपछि होटलमा फर्किएनन्। उनले आफ्नो मोबाइल पनि अफ गरे। आफूलाई बिहे गर्छु भनेर काठमाडौं ल्याएको मान्छे नफर्किएपछि ती युवती रातभर होटलको कोठामा भोकभोकै रोएर बसिन्।
भोलिपल्ट फागुन ६ गते बिहान करिब ९ बजेतिर होटल सञ्चालकले आएर ‘१२ बजेपछि होटलको चार्ज लाग्छ, निस्कनुस्’ भने। युवतीसँग न सुजनको अत्तोपत्तो थियो, न त आफ्नो खल्तीमा एक रुपैयाँ पैसा नै थियो। होटल सञ्चालकले निकालेपछि उनी रुँदै बसपार्क क्षेत्रमा निस्किइन्।
घर फर्किन पैसा नभएपछि उनी ताप्लेजुङ जाने गाडीका काउन्टरहरूमा गएर ‘मलाई गाउँ पुगेपछि पैसा दिन्छु, टिकट दिनुस् न’ भन्दै भौंतारिन थालिन्। उनको अवस्था देखेर बसपार्कमा ड्युटीमा रहेका प्रहरीले उनलाई सोधपुछ गरे।
प्रहरीको सोधपुछपछि मात्र ती युवतीले आफूलाई बसका सहचालकले विवाह गर्छु भनेर ल्याई होटलमा बलात्कार गरेर भागेको सम्पूर्ण कथा सुनाइन्। त्यसपछि प्रहरीले तत्कालै उनलाई उद्धार गरी संरक्षण गृहमा पठायो भने पीडितकी दिदीको जाहेरीका आधारमा अनुसन्धान अघि बढायो।
प्रहरीको अनुसन्धान अनि प्रमाण
प्रहरीले अनुसन्धानका क्रममा घटनालाई पुष्टि गर्ने प्रशस्त प्राविधिक र भौतिक प्रमाणहरू संकलन गरेको छ। प्रहरीले होटलको मुचुल्का तयार पार्नुका साथै होटलको सीसीटीभी फुटेजसमेत बरामद गरेको छ। उक्त फुटेजमा अभियुक्त सुजन र पीडित युवती सँगै होटलमा प्रवेश गरेको प्रष्ट देखिएको छ।
होटल सञ्चालक प्रकाश अधिकारीले पनि प्रहरी र अदालतमा कागज गर्दै फागुन ५ गते सुजनले आफ्नो नाममा इन्ट्री गरेर कोठा लिएको र साँझपख सुजन एक्लै निस्किएर भागेको पुष्टि गरेका छन्।
यसका साथै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा गरिएको पीडितको शारीरिक परीक्षण (मेडिकल रिपोर्ट) मा पनि करणी भएको पुष्टि हुने घाउचोट र रक्तश्राव देखिएको रिपोर्ट डाक्टरहरूले दिएका छन्। यी सम्पूर्ण प्रमाणले सुजनले योजनाबद्ध रूपमा अपराध गरेको पुष्टि गरेको सरकारी वकिलको दाबी छ।
सुजनको बयान
प्रहरीले फागुन ९ गते सुजनलाई नयाँ बसपार्क क्षेत्रबाटै पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा सुजनले आफूले ती युवतीलाई विवाह गर्छु भनेर काठमाडौं ल्याएको, सँगै होटलमा बसेको र शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन्।
‘शारीरिक सम्बन्ध राखेपछि म सहचालकको काम गर्ने गाडी मर्मतका लागि सानो भर्याङको ग्यारेजमा राखेको हुँदा त्यतै गएँ। मसँग फोन नभएकाले सम्पर्क हुन सकेन,’ सुजनले बयानमा भनेका छन्, ‘पछि म बसपार्क एरियामा आउँदा प्रहरीले उनलाई सोधपुछ गरिरहेको देखेँ। मैले करणी गरेर छाडेको कुरा थाहा पाएर मलाई पक्रन्छ भन्ने डरले म भागेको हुँ।’
सुजनले पीडित युवतीको मञ्जुरीमै शारीरिक सम्बन्ध राखेको दाबी गरेका छन्। यस घटनामा पीडित युवती १८ वर्षभन्दा माथिकी भए पनि प्रतिवादी सुजनले विवाहको झुठो विश्वास दिलाएर, ललाईफकाई करणी गरेकाले कानुनतः यो पूर्ण रूपमा बलात्कार ठहरिने सरकारी वकिलको दाबी छ।
जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्रमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) विपरीतको कसुरमा दफा २१९ (३) को खण्ड (ङ) बमोजिम सुजनलाई ७ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ।
त्यसैगरी, कानुनको दफा २१९ (३क) को खण्ड (ग) बमोजिम अभियुक्त सुजनलाई थप ५ लाख रुपैयाँ जरिवाना गर्न पनि अदालतसमक्ष माग गरिएको छ। उक्त जरिवाना रकम र दफा २२८ बमोजिम प्रतिवादीबाट क्षतिपूर्ति भराई ‘पीडित राहत कोष’मार्फत ती असहाय युवतीलाई प्रदान गर्न मागदाबी लिइएको छ।
चैत ३, २०८२ मंगलबार १०:४८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।