काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमणमा चार सय जनाको मृत्यु भएको तालिवानको दाबी

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमणमा चार सय जनाको मृत्यु भएको तालिवानको दाबी

एजेन्सी : अफगानिस्तानले सोमबार पाकिस्तानले आफ्नो राजधानी काबुलमा हवाई आक्रमण गरेको गम्भीर आरोप लगाएको छ। उक्त आक्रमणमा परी सयौं मानिसको ज्यान गएको बताइएको छ।

बीबीसी पश्तोको रिपोर्टअनुसार, काबुलस्थित एउटा लागूऔषध दुर्व्यसनी सुधार केन्द्र (अस्पताल) लाई लक्षित गरी हवाई आक्रमण गरिएको हो। तालिवान सरकारले यस घटनाको सम्पूर्ण जिम्मेवारी पाकिस्तानले लिनुपर्ने बताएको छ।

अफगान तालिवान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल 'एक्स' (पहिलेको ट्विटर) मार्फत घटनाको जानकारी दिएका छन्। उनका अनुसार सोमबार राति करिब ९ बजे पाकिस्तानी सेनाले २ हजार शय्याको ‘ओमिद दुर्व्यसनी सुधार अस्पताल’मा आक्रमण गरेको हो।

उपप्रवक्ता फितरतले लेखेका छन्, ‘आक्रमणबाट अस्पतालको ठूलो हिस्सा भत्किएको छ। अहिलेसम्म करिब ४०० जनाको मृत्यु र २५० जना घाइते भएको सूचना प्राप्त भएको छ। उद्धार टोलीहरूले भग्नावशेषबाट शव निकाल्ने र आगो निभाउने काम गरिरहेका छन्।’

पाकिस्तानको प्रस्टीकरण- ‘आतंकवादी अखडामा मात्र आक्रमण गरेका हौँ’
यता, पाकिस्तानको सूचना मन्त्रालयले भने अस्पताललाई निशाना बनाएको भन्ने आरोपलाई अस्वीकार गरेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफूहरूले काबुल र पूर्वी अफगान प्रान्त नंगरहारमा रहेका सैन्य अखडा र 'आतंकवादीका लुक्ने ठाउँ' हरूमा मात्रै आक्रमण गरेको दाबी गरेको छ।

तर, अफगान स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखेलले उक्त अस्पताल वरपर कुनै पनि सैन्य अखडा नरहेको स्पष्ट पारेका छन्। स्थानीय बासिन्दाहरूले सोमबार राति ठूला विष्फोटका साथै लडाकु विमानहरूको आवाज सुनेको बताएका छन्।

क्रिकेटर राशिद खानले भने- ‘यो युद्ध अपराध हो’
यस घटनाको चौतर्फी विरोध सुरु भएको छ। अफगानिस्तानका चर्चित क्रिकेटर राशिद खानले यसलाई ‘युद्ध अपराध’को संज्ञा दिएका छन्।

उनले ‘एक्स’मा लेखेका छन्, ‘घर, शिक्षण संस्था वा अस्पतालमा जानजानी वा गल्तीले आक्रमण गर्नु युद्ध अपराध हो। म संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संस्थाहरूसँग यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दछु।’

त्यसैगरी, अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषद्का पूर्व प्रमुख अब्दुल्ला अब्दुल्लाले पनि नागरिकको ज्यान जाने गरी भएको यस आक्रमणको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेका छन्।

किन बढिरहेको छ दुई देशबीच तनाव?
पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध निकै चिसिएको छ। पाकिस्तानले आफ्नो देश (विशेषगरी बलुचिस्तान) मा आक्रमण गर्ने विद्रोही समूहहरूलाई अफगानिस्तानले आश्रय दिइरहेको आरोप लगाउँदै आएको छ। तर, तालिवान सरकारले भने उक्त आरोपको खण्डन गर्दै आएको छ।

यसका साथै, पाकिस्तानले लाखौं अवैध अफगान शरणार्थीहरूलाई जबर्जस्ती देश निकाला गर्ने अभियान चलाएपछि र बेलायती शासनकालमा कोरिएको सीमा रेखा 'डुरान्ड लाइन'को विवादका कारण पनि दुई छिमेकी देशबीच पटक-पटक झडप र तनावको स्थिति सिर्जना हुँदै आएको छ।

चैत ३, २०८२ मंगलबार १०:०२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।