चितवन राष्ट्रिय निकुञ्ज भित्र जीर्ण बन्यो टाइगर टप्स होटल

चितवन राष्ट्रिय निकुञ्ज भित्र जीर्ण बन्यो टाइगर टप्स होटल

चितवन :लोपोन्मुख एकसिंगे गैँडा र पाटे बाघको चोरी सिकारी बढेको भन्दै २०६९ असार मसान्तबाट चितवन राष्ट्रिय निकुञ्ज भित्रका होटल, रिसोर्ट र लजको नवीकरण बन्द गरेपछि टाइगर टप्स होटल अलपत्र पर्यो।

राष्ट्रिय निकुञ्जभित्र सञ्चालनमा रहेका होटेलहरूलाई बाहिर सार्ने सरकारी नीतिपछि यो होटल बन्द भयो। त्यसयता भवन, काठका कुटीहरू र अन्य संरचनाहरू मर्मत अभावका कारण क्रमशः जीर्ण बन्दै गएका छन्।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना नहुँदै खुलेको टाइगर टप्स होटल सन् १९६४ मा ब्रिटिस नागरिक जिम एडर्वड्स र अमेरिकन नागरिक वान्ना र केलीनले टाइगर टप्स हन्टिङ कम्पनीको नाममा सुरु गरेका थिए। प्रारम्भमा उनीहरूले चार कोठामा टाइगर टप्स सुरु गरेका थिए।

सरकारले राष्ट्रिय निकुञ्ज नियमावली, २०३० मा स्पष्ट व्यवस्था नभएको भन्दै निकुञ्ज भित्र रहेका होटलहरुको नवीकरण नै बन्द  गरिदियो।


संरक्षणका लागि भन्दै निकुञ्ज भित्रका होटलहरु बन्द गर्ने आवाज उठे पनि यसको अर्को स्वार्थ भित्रको होटल बन्द भए पर्यटकहरू बाहिरका होटलमा बस्छन् भन्ने थियो। त्यसैले निकुञ्ज बाहिरका होटल सञ्चालकहरूले पनि यसलाई साथ दिएका थिए। तर अवस्था उल्टो भयो। संरक्षणमा केही योगदान पुग्यो होला। तर निर्णयले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्यो।

२०६९ सालसम्म चितवन निकुञ्जभित्र टाइगर टप्ससहित, मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट र टेम्पल टाइगर रिसोर्ट सञ्चालनमा थिए। त्यहाँ खर्च गर्न मन पराउने पर्यटकहरू बस्थे। मजदुर विवादका कारण गैँडा वाइल्ड लाइफ क्याम्प बन्द भए पनि चार होटल निकुञ्ज भित्र चलेका थिए। यी होटल बन्द भएपछि खर्च गर्न रुचाउने पर्यटक घटे।

टाइगर टप्ससहितको निकुञ्ज भित्रका होटल विश्वका एड्भेन्चर र जंगल सफारीमा रुचि राख्ने पर्यटकमाझ लोकप्रिय थिए। उनीहरू विमान चार्टर गरेरै यहाँ बस्न आउँथे। यी होटल बन्द भएपछि त्यस्ता सौखिन पर्यटकहरू ह्वात्तै घटे। जंगल एडभेन्चर जंगल सफारीमा मात्र सीमित भयो।

निकुञ्जभित्र होटल चलाउन नपाउने भएपछि टाइगर टप्स नवलपरासीको मध्यवर्ती क्षेत्र अमलटारीमा गएर टेन्ट क्याम्प शुरु गर्यो। टेम्पल टाईगर, मचान र आइल्यान्ड जंगल पनि मध्यवर्ती क्षेत्रमा सर्यो। एड्भेन्चर पर्यटनका लागि निकुञ्चभित्रका होटल व्यवस्थापन गरेर पुन सञ्चालन गर्नेबारे सरकारले कुनै नीती बनाएको छैन।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ को दफा ३ तथा ६ र निकुञ्ज नियमावली २०३० को दफा ३ मा निकुञ्ज आरक्षभित्र सेवा सुविधा सञ्चालन गराउन चाहेमा टेन्डर गर्नसक्ने उल्लेख छ। ऐनको दफा ३ ख (२) मा वातावरणलाई प्रतिकूल असर नपुग्ने र वन्यजन्तुलाई हानि नोक्सानी नपुग्ने गरी होटल, लज, सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उल्लेख छ। तर त्यसको प्रयास भएको देखिदैन।

२०७९ मा प्रदीप यादवको पालामा टाइगर टप्स पुरानै ठाउँमा होटल चलाउन दिन माग गर्दै पर्यटन मन्त्रालयमा निवेदन दिएपछि यसबारे छलफल अगाडि बढेको थियो। तर त्यो निष्कर्षमा पुग्न सकेन। २०७८ मा पर्यटकीय सेवासम्बन्धी कार्यविधिको मस्यौदा बनाएर निकुञ्जभित्र स्थायी संरचनाको विकल्पमा टेन्टहरू राखेर होटल सेवा चलाउन दिने राखियो। तर त्यो कार्यान्वयनमा आएको छैन।

फागुन ३०, २०८२ शनिबार २०:३२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।