रोल्पामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन जना घाइते
रोल्पा : रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार मध्याह्न रोल्पाको रून्टिगढी गाउँपालिका–७, खाक्सिवन बस्ने निर्मला बुढाथोकीको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
उनी सात जना छिमेकीहरूसँगै घर नजिकैको डाँडामा माटो लिन गएकी थिइन्।
माटो खन्दै गर्दा एक्कासि माथिबाट खसेको ढिस्कोले उनीहरूलाई पुरेको थियो। घटनाको जानकारी पाउनासाथ प्रहरीको ७ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो। तर, माटो पन्छाएर बाहिर निकाल्दा निर्मलाको मृत्यु भइसकेको प्रहरीले बताएको छ।
सोही घटनामा परी खाक्सिवनकै २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ।
फागुन ३०, २०८२ शनिबार १५:३२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।