ब्याजदर घटाउनेमा नेपाल बैंक अगाडि, १४ वाणिज्य बैंकको दर भने स्थिर
काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ।
फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.५६ प्रतिशत विन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशत विन्दुमा झरेको छ। यस प्रकारको निक्षेपमा औसत ब्याजदर ०.०७ प्रतिशत विन्दुले घटेको हो।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औसत दरमा गिरावट आएको हो। बाँकी १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुन महिनाकै दरमा कायम राखेका छन्।
संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.०३ प्रतिशत विन्दुले घटेको छ। चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ।
सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत विन्दुले घटाएको छ। त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र ग्लोबल आइएमई बैंकले पनि ब्याजदर घटाएका छन्।
ब्याजदरमा गिरावटसँगै निक्षेपकर्ताले थोरै कम फाइदा पाउने देखिएको छ भने बैंकहरूको प्रतिस्पर्धात्मक रणनीति र बजार व्यवस्थापनमा यसले प्रभाव पार्ने अनुमान गरिएको छ।
फागुन ३०, २०८२ शनिबार १५:१०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।