इजरायलद्धारा लेबनानमा रहेको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण
एजेन्सी : मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावका बीच दक्षिण लेबनानमा शुक्रवार राति भएको इजरायली हवाई आक्रमणका क्रममा संयुक्त राष्ट्र संघको अन्तरिम बलको नेपाली सेनाको बटालियन हेडक्वार्टरमा समेत हमला भएको छ।
दक्षिण लेबनानी सीमावर्ती क्षेत्रमा संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन परिसरमा गोला प्रहार भएको हो।
दक्षिण लेबनानको मेस अल–जबालस्थित ब्लु लाइन नजिकै रहेको नेपाली शान्ति सैनिकको परिसरमा इजरायली गोलाहरू खसेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उक्त आक्रमणबाट भौतिक संरचनामा केही क्षति पुगे पनि नेपाली शान्ति सैनिकहरू भने पूर्ण रूपमा सुरक्षित रहेका छन्।
बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले यस आक्रमणको कडा निन्दा गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले घटनाको पुष्टि गर्दै यसबारे थप विवरण संकलन भइरहेको बताएका छन्।
इजरायली सेनाले भने यस घटनाका बारेमा हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।
नेपालको मानार्थ महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको शान्ति सैनिकहरूको स्थानलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघका कर्मचारीहरूको सुरक्षा सिद्धान्तहरूको गम्भीर उल्लंघन भएको उल्लेख गरेको छ।
फागुन ३०, २०८२ शनिबार १५:००:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।