उत्तर कोरियाले १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी
एजेन्सी : दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले शनिबार पूर्वी सागरतर्फ करिब १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।
दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस)ले यसको पुष्टि गरेको हो।
दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेकै समयमा उत्तर कोरियाले यो मिसाइल परीक्षण गरेको हो।
जेसीएसका अनुसार, स्थानीय समयअनुसार दिउँसो १ बजेर २० मिनेटमा उत्तर कोरियाको सुनान क्षेत्रबाट यी मिसाइलहरू प्रहार गरिएका हुन्।
यो यस वर्ष उत्तर कोरियाले गरेको तेस्रो ब्यालेस्टिक मिसाइल परीक्षण हो।
यसअघि जापानको रक्षा मन्त्रालयले पनि यो प्रक्षेपणको पुष्टि गरिसकेको थियो।
मन्त्रालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेको थियो, ‘उत्तर कोरियाबाट ब्यालेस्टिक मिसाइल प्रहार भएको हुन सक्छ।’
यस विषयमा उत्तर कोरियाको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छैन।
फागुन ३०, २०८२ शनिबार १४:२६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।