इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, चालक दलका सबै सदस्यको मृत्यु

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, चालक दलका सबै सदस्यको मृत्यु

एजेन्सी : इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन विमान ‘केसी–१३५’ दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ चालक दलका सदस्यको मृत्यु भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको छ।

अमेरिकी सेनाको मध्यपूर्व क्षेत्र जिम्मेवारी लिने सेनाले अनुसार, दुर्घटना ‘मैत्रीपूर्ण हवाई क्षेत्र’ मा दुई विमानको संलग्नताको क्रममा भएको र अर्को विमान सुरक्षित अवतरणमा सफल भएको छ ।

संयुक्त राज्यको सेनाले दुर्घटनाको कारण तत्काल पत्ता नलागेको बताए पनि, यो ‘शत्रु वा मैत्रीपूर्ण गोलीबारीका कारण नभएको’ स्पष्ट पारेको छ। सेनाध्यक्ष जनरल ड्यान केनले भने,“ दुर्घटना मैत्रीपूर्ण क्षेत्रको वरिपरि भएको हाे, जबकि चालक दल युद्ध मिशनमा थियो।”

तर इराकको इस्लामिक रेजिस्टेन्स भन्ने संगठनले उक्त इन्धन विमान आफूले खसालेको दाबी गरेको रोयटर्सले उल्लेख गरेकाे छ।

ओहायो राज्यका गभर्नर माइक डेवाईनले सामाजिक सञ्जालमा दुर्घटनामा परेका ६ मध्ये ३ चालक दलका सदस्य ओहायो हवाई राष्ट्रिय गार्डको १२१औँ एयर रिफ्यूलिङ विङ्गमा कार्यरत रहेकाे जानकारी दिए। उनीहरूको नाम भने खुलाइएको छैन।

यो सँगै मृत्यु हुने सेनाकाे सङ्ख्या कम्तिमा १३ पुगेको छ। जसमा सात जना युद्धमा मारिएका छन् भने करिब १४० जना घाइते भएका छन्।

केसी–१३५ स्ट्राटोट्याङ्कर विमानले अन्य विमानलाई हवाईबाट इन्धन आपूर्ति गर्ने काम गर्छ, जसले लामो दूरीको मिशन पूरा गर्न मद्दत गर्छ। साथै यसलाई घाइते सैनिकको आपतकालीन निकासी र निगरानी अभियानमा पनि प्रयोग गरिन्छ। यो विमान १९६० दशकको डिजाइनमा आधारित छ र क्रमिक रूपमा नयाँ विमानले प्रतिस्थापन हुँदैछ। 

केसी–१३५ विमानले विगतमा केही घातक दुर्घटनामा परेकाे छ। सन् २०१३ मा किर्गिस्तानमा एक विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्य मारिएका थिए। त्यस्तै, १९६६ मा स्पेनको पालोमारेसमा बमबारी विमानसँगको मध्य हवाई ठोक्कामा चार चालक दलको मृत्यु भएको थियो। यद्यपि विमानको सुरक्षा र मर्मत व्यवस्थापन उच्चस्तरीय रहेको बताइएको छ।

यो दुर्घटना इरान–अमेरिका युद्धको क्रममा सार्वजनिक रूपमा देखिएका चौथो विमान दुर्घटना हो। यसले खाडी क्षेत्रमा सैन्य अपरेशनको चुनौती र लामो दूरीको मिशनमा इन्धन आपूर्तिको महत्त्वलाई झन् बढाएको छ।

फागुन ३०, २०८२ शनिबार १४:१७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।