इराकको बगदादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार, अमेरिकी कूटनीतिज्ञको सूचना दिनेलाई पुरस्कारको घोषणा

इराकको बगदादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार, अमेरिकी कूटनीतिज्ञको सूचना दिनेलाई पुरस्कारको घोषणा

एजेन्सी : इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासभित्रको हेलिप्याडमा मिसाइल प्रहार भएको इराकी सुरक्षा अधिकारीहरूले बताएका छन्।

एसोसिएटेड प्रेसले अमेरिकी दूतावास परिसरमा धुवाँको मुश्लो उडिरहेको उल्लेख गरेको छ। यस आक्रमणबाट भएको क्षतिबारे भने आधिकारिक जानकारी प्राआउन बाँकी छ। 

इरानसँग निकट रहेका इराकी सशस्त्र समूहहरूले इराकमा रहेका अमेरिकी सुविधाहरू र विशेष गरी अमेरिकी दूतावासमा आक्रमण गर्ने चेतावनी दिएका थिए।  

अमेरिकी र इजरायली हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएपछि उनीहरूले सो मृत्युको बदला लिन यस्ता आक्रमणहरू गर्ने चेतावनी दिएका हुन् ।

हिजो मात्र ती समूहहरूले एक विज्ञप्ति जारी गर्दै इराकभित्र रहेका कुनै पनि अमेरिकी कूटनीतिक कर्मचारीहरूको बारेमा जानकारी दिनेलाई १ लाख डलर पुरस्कार दिने घोषणा गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

उनीहरूले आफ्नो विज्ञप्तिमा इराकमा रहेका अमेरिकी हितहरू, सैन्य आधारहरू र सुविधाहरूमा निरन्तर आक्रमण गरिरहेको र यसको दबाबका कारण अमेरिकी कर्मचारीहरू सुरक्षाका लागि नागरिकहरूको घरमा शरण लिन बाध्य भएको दाबी गरेका छन्।

अहिलेको तनावपूर्ण स्थितिलाई ध्यानमा राख्दै अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई इराक छाड्न र सतर्क रहन सुरक्षा अलर्ट समेत जारी गरेको छ।

फागुन ३०, २०८२ शनिबार १२:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।