मिसाइल आक्रमणको भिडियो खिचेर अफवाह फैलाएपछि युएईमा एक नेपालीसहित १० जनाविरुद्ध मुद्दा

मिसाइल आक्रमणको भिडियो खिचेर अफवाह फैलाएपछि युएईमा एक नेपालीसहित १० जनाविरुद्ध मुद्दा

एजेन्सी : संयुक्त अरब इमिरेट्स (युएई)मा मिसाइल आक्रमण र एयर डिफेन्स सिस्टमका भिडियोहरू खिचेको र एआई प्रयोग गरी बनाइएका भ्रामक भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा एक नेपालीसहित १० जना पक्राउ परेका छन्।

युएईका महान्यायाधिवक्ता डा. हमाद सेफ अल शम्सीको आदेशमा उनीहरूलाई पक्राउ गरी तत्काल कारबाहीका लागि अर्जेन्ट ट्रायलमा पठाइएको छ।

अधिकारीहरूले सार्वजनिक गरेको सूचीअनुसार पक्राउ पर्ने १० जनामा एक नेपाली नागरिकसहित इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बंगलादेश र क्यामरुनका एक-एक जना तथा दुई जना भारतीय नागरिक रहेका छन्।

के थियो आरोप?
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले युएईको एयर डिफेन्स सिस्टमले आक्रमणलाई आकाशमै निस्तेज पारेका सक्कली भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएको छ।

यसका साथै, उनीहरूले एआईको प्रयोग गरी युएईका प्रमुख स्थलहरूमा मिसाइल खसेको, ठूलो आगलागी भएको र धुवाँ उडेको जस्ता नक्कली भिडियोहरू पनि बनाएर भाइरल गराएका थिए।

कतिपय भिडियोमा बालबालिकाको भावनासँग खेल्दै देशमा ठूलो सुरक्षा खतरा रहेको भान गराउन खोजिएको थियो भने विदेशमा भएका घटनालाई युएईभित्रै भएको भन्दै अफवाह फैलाइएको थियो।

यस्ता कार्यले राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था र स्थिरतामा खलल पुर्याउनुका साथै युएईको प्रतिरक्षा क्षमताको गोप्य जानकारी बाहिरिने जोखिम बढाएको अधिकारीहरूले बताएका छन्।

महान्यायाधिवक्ता डा. अल शम्सीका अनुसार, नियतवश गलत जानकारी फैलाउने, सार्वजनिक सुरक्षामा खतरा पैदा गर्ने र समाजमा त्रास फैलाउने यस्ता अपराध प्रमाणित भएमा कम्तीमा एक वर्षको जेल सजाय र न्यूनतम एक लाख दिराम (करिब ४१ लाख नेपाली रुपैयाँ) जरिवाना हुनेछ। हाल उनीहरूलाई हिरासतमा राखेर सोधपुछ भइरहेको छ।

अन्य ४५ जना पनि पक्राउ
यो १० जनाको समूहबाहेक अबुधाबी प्रहरीले आक्रमणको समयमा भिडियो बनाएको र गलत जानकारी फैलाएको आरोपमा विभिन्न देशका अन्य ४५ जनालाई पनि पक्राउ गरेको छ। 

यसअघि दुबईमा इरानी मिसाइलहरू उडिरहेको भिडियो खिचेको आरोपमा साइबर अपराध कानुनअन्तर्गत एक ६० वर्षीय बेलायती नागरिकविरुद्ध पनि मुद्दा दर्ता गरिएको थियो।

‘डिटेन्ड इन दुबई’ नामक संस्थाकी प्रमुख राधा स्टर्लिङका अनुसार पछिल्लो मिसाइल आक्रमणको भिडियो र पोस्टलाई लिएर युएईमा २१ जनामाथि साइबर अपराधको मुद्दा चलाइएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा दुबईका अग्ला भवन, लक्जरी होटल र विमानस्थलमा भग्नावशेष खसेको दाबी गरिएका थुप्रै नक्कली तस्बिर र भिडियोहरू भाइरल भइरहेका छन्।

महान्यायाधिवक्ताले साइबर स्पेस वा आधुनिक प्रविधिको दुरुपयोग गरी राष्ट्रिय सुरक्षामा आँच पुर्याउने र अफवाह फैलाउने कसैलाई पनि छुट नदिइने कडा चेतावनी दिएका छन्।

अधिकारीहरूले डिजिटल प्लेटफर्महरूको निरन्तर निगरानी गरिरहेको र नियम उल्लङ्घन गर्नेमाथि तत्काल कडा कानुनी कारबाही गरिने स्पष्ट पारेका छन्।

फागुन ३०, २०८२ शनिबार १०:१५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।