चुनावमा कलाकार : बालेन र आशिकाले स्थापित नेतालाई पछारे, निशा भने सुटिङमै फर्किइन्

चुनावमा कलाकार : बालेन र आशिकाले स्थापित नेतालाई पछारे, निशा भने सुटिङमै फर्किइन्

काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनले नेपाली राजनीतिमा एउटा नयाँ र ऐतिहासिक तरंग ल्याइदियो। लामो समयदेखि राजनीतिमा जरा गाडेर बसेका स्थापित नेताहरूलाई यसपटक कलाकार र सामाजिक अभियन्ताहरूले नराम्ररी पछारे।

जनताले परम्परागत अनुहारभन्दा नयाँ अनुहार र उमेरले नै युवाहरूलाई रुचाएको स्पष्ट सन्देश यस निर्वाचनले दियो। विशेषगरी, चुनावमा होमिएका अधिकांश कलाकारहरूले शानदार जित हासिल गर्दा केहीले भने हार स्वीकार्दै आफ्नै पुरानो पेशालाई निरन्तरता दिन थालिसके।

झापा-५ मा ओली भर्सेस बालेन
यस पटकको चुनावी माहोलमा सबैभन्दा बढी चर्चाको केन्द्रमा झापा क्षेत्र नम्बर ५ रह्यो।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता, र्यापर तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहबीचको यस भिडन्तलाई ‘महाभिडन्त’ का रूपमा हेरियो। दुवैलाई आ-आफ्ना पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका थिए।

तर, अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बालेन शाहले ऐतिहासिक र आश्चर्यजनक जित निकाले। बालेनले कुल ६८ हजार ३४८ मत ल्याएर विजयी हुँदा ओलीले मात्र १८ हजार ७३४ मत प्राप्त गरे। बालेनले ४९ हजार ६१४ मतको भारी अन्तरले ओलीलाई पराजित गर्दै नयाँ पुस्ताको राजनीतिक उदयको बलियो संकेत दिए।

धादिङमा आशिका तामाङको शानदार इन्ट्री
फिल्म ‘सुश्री’ मार्फत आर्यन सिग्देलको अपोजिटमा अभिनय गरेर रजतपटमा उदाएकी अभिनेत्री आशिका तामाङले पनि यसपटक राजनीतिक मैदानमा आफूलाई अब्बल साबित गरिन्।

पछिल्लो समय अभिनेत्रीभन्दा बढी सामाजिक अभियन्ताका रूपमा परिचित तामाङ रास्वपाबाट उम्मेदवार बनेकी थिइन्। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ बाट उनले आफ्ना प्रतिस्पर्धीहरूलाई नराम्ररी पछारिन्।

आशिकाले कुल ३९ हजार १२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले जम्मा १४ हजार ७०९ मत मात्र पाए।

जमानत जफतपछि सुटिङ सेटमा नीशा
चुनावमा होमिएका सबै कलाकारले सफलता भने पाउन सकेनन्।

काठमाडौं क्षेत्र नम्बर ५ बाट गतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी अभिनेत्री निशा अधिकारीको नतिजा भने निकै निराशाजनक रह्यो। उनले जम्मा ९२ मत मात्र प्राप्त गरिन्। सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजयी बने।

चुनावमा उम्मेदवारी दिँदा राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाले निशाका लागि सामाजिक सञ्जालमार्फत भोट मागेकी थिइन्। तर, जनताले निशालाई पत्याएनन्। आफ्नो हारलाई सहज रूपमा स्वीकार गर्दै निशा भने पुनः आफ्नै अभिनय पेशामा फर्किइन्।

यतिबेला उनी निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘कस्तुरी’ को छायांकन सेटमा पुगिसकिन्। काठमाडौं आसपासमा भइरहेको छायांकनका क्रममा निखिलसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले अभिनयमा फर्किए पनि राजनीतिलाई भने नछाड्ने उद्घोष गरिन्।

रिमा समानुपतिक सांसद बन्ने पक्का, प्रकाश सपुत कन्सर्टमा
प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि यसपटक कलाकारहरूको भाग्य चम्किएको छ। अभिनयबाट दर्शकमाझ खासै ठूलो प्रभाव छाड्न नसकेकी अभिनेत्री तथा प्रस्तोता रिमा विश्वकर्मालाई भने यसपटक ‘लट्री’ नै परेको छ।

सुरुमा कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’मा आवद्ध रहेकी रिमा, उक्त पार्टी र रास्वपाबीचको एकता र त्यसपछिको आन्तरिक विद्रोह हुँदा रवि लामिछाने नेतृत्वको रास्वपामै बसिन्।

रास्वपाले उनलाई समानुपातिकतर्फ दलित महिला कोटाको पहिलो नम्बरमा राखेको थियो। पार्टीले सर्वाधिक समानुपातिक मत पाएका कारण उनी सांसद बन्ने पक्का भएको छ।

त्यसैगरी, चर्चित गायक तथा अभिनेता प्रकाश सपुत पनि रास्वपाबाटै पुरुष दलित कोटाको दोस्रो नम्बरमा रहेका छन्। एक वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ गर्दा डिप्रेसनमै पुग्ने गरी गम्भीर ट्रोलको सिकार बनेका सपुत अन्ततः रास्वपाको समानुपातिक उम्मेदवार बने।

प्रतिनिधि सभामा समावेशी सिद्धान्तअनुसार कुल सांसदको ३३ प्रतिशत महिला अनिवार्य गर्नुपर्ने भएकाले पार्टीले पाएको ५७ सिटमा ४७ सिट महिलालाई नै छुट्याउनुपर्ने भएकाले उनी सांसद बन्ने दौडमा पछाडि परे।

आफू सांसद बन्ने सम्भावना कम देखेपछि उनले सांगीतिक कार्यक्रम ‘चैते दशैं म्युजिक कन्सर्ट’मा सहभागी हुन लागेको तालिका सार्वजनिक गरेका छन्। बागलुङ समाजको निमन्त्रणामा ३१ मार्चमा आएरल्याण्डमा हुन लागेको कार्यक्रममा उनी सहभागी हुँदैछन्। रास्वपाको आज बस्ने  सचिवालय बैठकले समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेछ।

यसका गायिकाबाट अहिले पूर्णकालीन राजनीतिमा होमिएकी कोमल वली पनि एमालेबाट समानुपातिक उम्मेदवारको सूचीमा खसआर्य चौथो नम्बरमा छिन्। समानुपातिकतर्फ १६ सिट पाएको एमालेले समानुपातिक प्रणालीमा पर्ने सांसदहरूबाट प्रतिनिधि सभामा पठाउने सांसदहरूबारे निर्णय गर्नै बाँकी छ।

अघिल्लो चुनावमा कलाकारहरूको निराशाजनक विगत
यसपटक कलाकारहरूले राम्रो नतिजा ल्याए पनि अघिल्लो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भने कलाकार पृष्ठभूमिका उम्मेदवारहरूको अवस्था निकै कमजोर थियो।

अघिल्लो चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाकी उम्मेदवार बनेकी चर्चित अभिनेत्री रेखा थापाले १० हजार ९९८ मत पाए पनि कांग्रेस उम्मेदवार सुनील शर्मासँग पराजित भएकी थिइन्। सोही हारका कारण हुन सक्छ, यसपटक उनले प्रत्यक्ष चुनाव लड्ने आँट गरिनन्।

त्यस्तै, दाङ क्षेत्र नम्बर ३ बाट एमालेबाट उम्मेदवार बनेकी पूर्व सञ्चारकर्मी तथा गायिका कोमल वलीले २९ हजार ९२ मत ल्याएर पनि कांग्रेसका दीपक गिरीसँग हार व्यहोर्नुपरेको थियो। वलीले त्यसअघि राष्ट्रिय सभामा एक कार्यकाल पूरा गरेकी थिइन्।

त्यसैगरी, हास्य टेलिश्रृंखला ‘सक्किगोनी’का ‘सिते बा’ उपनामले परिचित कलाकार मधुसुदन पाठकले हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिह्न लिएर काठमाडौं-५ मा उम्मेदवारी दिँदा जम्मा ३६४ मत मात्र पाएका थिए।

झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी पूर्वमोडल खुश्बु ओली (हाल राप्रपा) ले १ हजार ८२४ मतमा चित्त बुझाउनु परेको थियो।

‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले रास्वपाबाटै धादिङ १ मा उम्मेदवारी दिएर १२ हजार ४९४ मत ल्याए पनि राजेन्द्रप्रसाद पाण्डेसँग पराजित भएका थिए। तर यसपटक सोही क्षेत्रमा आशिका तामाङले पाण्डेलाई हराएर अघिल्लो चुनावको बदला लिइन्।

फागुन ३०, २०८२ शनिबार ०८:०७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।